| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनमा प्रशासकीय भवन शिलान्यास

गोरखाको शहिदलखन गाउँपालिका को प्रमुख प्रशासकीय भवनको शिलान्यास गरिएको छ । करिब सात करोड ७८ लाख रुपैयाँमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवनको शनिवार संघीय सांसद हरिराज अधिकारीले शिलान्यास गरेका हुन् ।

‘अहिले साँघुरो भौतिक संरचनाबाट गाउँपालिकाको सेवा दिईरहेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले भने ‘नयाँ भवन बनेपछि हामीले सहज सेवा दिन सक्छौँ भन्ने अपेक्षा छ ।’ उक्त भवन निर्माणको जिम्मा बिना, अबिसा बेकोन जेभी, काठमाण्डौँले पाएको छ । २०७९ फागुन महिनाभित्र सम्पन्न हुनेगरी तीन साताअघि सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवनको योजना गरिएको हो ।

‘गण्डकी प्रदेश सरकारले पनि प्रमुख प्रशासकीय भवन निर्माण गर्न गाउँपालिकालाई अनुदान दिने योजना छ’ प्रशासकीय अधिकृत आले मगरले भने, ‘हामीले त्यहाँबाट पनि बजेट आउने आशा गरेका छौँ ।’ यस वर्ष भने संघीय सरकारबाट ६० लाख बजेट मात्रै प्राप्त भएको उनले बताए ।
शहिदलखन गाउँपालिकाले वडा नम्बर ६ को भवन प्रयोग गरेर सेवा दिइरहेको छ । वडा कार्यालय भाडाको घरमा छ । कृषि, पशु शाखा महिला समुहको भवनमा चलाउनु परेको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । स्वास्थ्य शाखा हिमालय माविको भवन र घैरुङ स्वास्थ्य चौकीको एउटा कोठाबाट संचालन गरिएको छ ।

अहिले भईरहेको संरचनाबाट साँघुरो गरी सेवा दिनुपर्दा सर्वसाधारणलाई गाउँपालिकाबाट सेवा लिन सहज नभएको कर्मचारी बताउँछन् ।
वडा नम्बर ६ को घैरुङमा अहिले भवन निर्माण गर्न लागिएको ठाउँमा गाउँपालिकाको २३ रोपनी जग्गा छ । गाउँपालिकाको केन्द्र घैरुङ निर्धारण हुनुअघि हिमालय युवा क्लवले १० रोपनी निशुल्क प्रदान गरेको थियो भने बाँकी १३ रोपनी खरिद गरिएको प्रशासकीय अधिकृत मगरले बताए ।


गाउँपालिका अध्यक्ष रमेशबाबु थापाको अध्यक्षतामा शनिवार भएको भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगर, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, वडा सदस्य दलबहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्