| आइतवार, कार्तिक २२, २०८३

एनआरएनएद्वारा गुप्सीपाखामा निर्मित एकीकृत बस्ती हस्तान्तरण (फोटो फिचरसहित)



गैरआवासीय नेपाली संघ(एनआरएनए)ले लाप्राकमा निर्माण गरेको एकीकृत बस्ती बिहिबार एक समारोहका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । गुप्सीपाखामा निर्मित सो एकीकृत नमूना बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र एनआरएनएका अध्यक्ष कुमार पन्तले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई हस्तान्तरण गरेका हुन् ।


२०७२ सालको भूकम्पबाट बिस्थापित लाप्राकका ५७३ घरधुरीका लागि एनआरएनएले पाँच बर्ष लगाएर एकीकृत बस्ती निर्माण गरेको थियो ।

बस्ती हस्तान्तरणको क्रममा एनआरएका प्रमुख कार्यकारी अधिकृत ज्ञावलीले सो बस्तीमा थप पूर्वाधार निर्माण गर्न २८ करोड रुपैँयाको प्याकेज घोषणा गरेका छन् । सो रकमबाट गुप्सीपाखाको एकीकृत बस्तीमा नाला, खानेपानी, बाटोघाटोलगायतका पूर्वाधार निर्माण गरिने उनले बताएका थिए ।


साथै बस्ती हस्तान्तरणको क्रममा एनआरएनएका अध्यक्ष पन्तले कूल ६१ करोड ४० लाख २८ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका थिए । ‘एकीकृत बस्ती निर्माणका लागि दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार एकसय ३७ रुपैयाँ प्राप्त भएको थियो । त्यसको ब्याजबाट पाँच करोड ७६ लाख २५ हजार तीनसय २३ रुपैयाँ संकलन भयो’, पन्तले भने, ‘संघबाट प्राप्त अपुग रकम १३ करोड ३८ लाख रुपैयाँ खर्च भयो ।’

बस्ती निर्माणका लागि जम्मा ५७ करोड ६६ लाख चारहजार र राहत तथा उद्धारमा तीनकरोड ७४ लाख २३ हजार रुपैयाँ खर्च भएको उनले बताए ।

प्रत्येक घर निर्माण गर्न करिब १० लाख रुपैयाँ खर्च लागेको पन्तले बताएका थिए । साथै बस्ती निर्माण गर्न नेपाली सेनाले श्रमदान गरेको थियो । एनआरएनहरु र स्थानीयबासीले पनि बस्ती निर्माणमा श्रमदान गरेका थिए ।
घर निर्माण सम्पन्न भएपछि गाउँपालिकाले गोलाप्रथाद्वारा लाभग्राहीलाई घर प्रदान गरेको थियो ।


सो अवसरमा मालपोत कार्यालय गोरखाबाट तयार भएको १३० जनाको लालपूर्जा पनि हस्तान्तरण गरिएको थियो । बाँकी लालपूर्जा क्रमश हस्तान्तरण गदै लगिने एनआरएले जनाएको छ । प्रत्येक घरलाई तीनआना दुईदामका दरले जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले जानकारी दिए । लालपूर्जा पाए पनि स्थानीय घरजग्गाधनीले सो जग्गा १० बर्षसम्म बेचबिखन गर्न नपाउने व्यवस्था गरिएको उनले बताए ।


राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एनआरएनए बीच २०७३ सालको वैशाख १२ गते लाप्राकको एकीकृत बस्ती निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको थियो । सोही बर्षको पुस १२ गतेबाट बस्ती निर्माण आरम्भ भएको जिमालीका प्रमुख आचार्यले बताए ।


सो बस्ती हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एनआरएका सिइओ ज्ञावली, एनआरएनका अध्यक्ष पन्त, सांसद हरि अधिकारी, गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष, फूलमाया गुरुङ, नेपाली सेनाको तीन नंबर बाहिनीपति कुमारबाबु थापालगायत सहभागी थिए ।

एनआरएनएले स्थानीयका लागि दुईतले, चारकोठे घर निर्माण गरेको छ । लाप्राकका भूकम्प पीडितलाई स्थानान्तरण गर्न सरकारले गुप्सीपाखामा १८.३२ हेक्टर जग्गा उपलब्ध गराएको थियो ।
स्थानीयबासीले भने एनआरएनएले निर्माण गरेका घरमा झ्याल, ढोका कच्ची रहेको भन्दै धमाधम आफैले काठको झ्यालढोका बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्