
कोरोनाका कारण गोरखामा दुईदिनमा दुईजनाको मृत्यू
कोरोनाको दोस्रो लहर चलेपछि गोरखामा सोमबार र मंगलबार दुईदिनमा दुईजनाको मृत्यू भएको छ ।
सोमबार भीमसेनथापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यू भएको थियो । मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यू भएको त्यहाँका स्वास्थ्य शाखा प्रमुखहरुले जनाएका छन् ।
मसेलका ७९ बर्षका पुरुषको चितवन मेडिकल कलेजमा स्वासप्रश्वास सम्बन्धी समस्याको उपचारको क्रममा कोभिड पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । उनको मसेलस्थित घरमै मृत्यू भएको खनालले बताए ।
उपचारको क्रममा खटिएका उनका दुईछोरा किरिया बसेका छन् भने शव व्यवस्थापनमा खटिएका १५ जनाको पनि अवस्था हेरेर पिसिआर परीक्षण गरिने खनालले बताए ।
त्यस्तै मंगलबार बिहान मृत्यू भएका गोरखा नगरपालिका १४ एङ्कोटका ५५ बर्षका पुरुषमा सोमबार मात्रै कोरोना पुष्टि भएको थियो ।
उनीहरुको घरमा पसल पनि रहेको उनको परिबार दूध बेच्न पनि हिड्ने गरेकाले कन्ट्याक ट्रेसिङ गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।




