| आइतवार, कार्तिक २२, २०८३

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाखभरि बन्द

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ ।


‘कोभिड १९ विपद व्यवस्थापन समितिको आजको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निणर्य भएको छ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने, ‘नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निणर्य भएको छ ।’


चैतेदशैँ भएकाले मंगलबार एकैदिनमा मनकामना मन्दिरमा सात हजार भक्तजनले पूजा गरेका मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट भएको निणर्य प्राप्त नभएकाले मंगलबार निर्वाध रुपमा पूजाआजा भएको उनले बताए । ‘डिसिसिएमसीले नै निणर्य गरेपछि हामीले पनि बन्द गर्नैपर्‍यो’, जोशीले भने ।
चैतेदशैँको अष्टमीमा गोरखकालीको विशेष पूजा लाग्ने दिन भएकाले मंगलबार भक्तजनको थेगिनसक्नु भीड भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए । डिसिसिएमसीको निणर्य अनुसार बुधबारदेखि मन्दिरमा नियमित पूजाबाहेकका पूजाआजा बन्द गर्ने उनले बताए ।


डिसिसिएमसीले मेला, महोत्सव, जात्रा, पर्व, बिबाह, ब्रतवन्ध, पास्नी, धार्मिक अनुष्ठान, मलामीमा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन नपाइने र पार्टी प्यालेसको प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने निणर्य गरेको छ ।


सभा, सम्मेलन, सेमिनार, गोष्ठी, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलाप पनि भर्चुअल विधिबाट मात्र गर्नुपर्ने, भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा २५ जनाभन्दा बढि उपस्थित नगराई गर्नुपर्ने निणर्य भएको छ ।


सिनेमाहल, पार्टीप्यालेस, नाचघर, हेल्थक्लव, जिमखाना, फुटसल, हाटबजार, कवर्डहल, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा भिडभाड हुने कार्यक्रम पनि वैशाख मसान्तसम्मका लागि बन्द गराउने निणर्य भएको छ ।


साथै बैठकले सवारी साधनमा मास्क अनिबार्य लगाउनु पर्ने, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निणर्य गरेको छ । होटल, रेष्टुरेण्ट पनि दैनिक निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई प्रवेश गर्न नपाइने लगायतका निणर्य डिसिसिएमसीको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्