
गाउँमा पल्किएर मारेर हैरान पारेको चितुवालाई किसानले खोरमा पारे
किसानले पालेका गाईभैँसी तथा बङ्गुर मारेर सताएको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सयमुरे(साविक दर्बुङ गाविस)का किसानले शुक्रबार बिहान तीनबजे चितुवालाई खोरमा पारेका हुन् ।
गाउँमा लामो समयदेखि आतंक मच्चाउदै आएको चितुवालाई खोरमा पारिएको भीमकुमारी गुरुङले जानकारी दिइन् । ‘दुई महिनाको अवधीमा चितुवाले रानागाँउमा १७ वटा बाख्रा र गोरु, सयमुरेमा १० वटा गाईगोरु र राइथोकमा पाँचवटा बंगुर तथा ५ भन्दा धेरै बाख्रा मारेको छ’, उनले भनिन्, ‘हैरान पारेपछि स्थानीयबासीले वन डिभिजन कार्यालयसँग समन्वय गरी खोर बनाएका थिए । शुक्रबार बिहान तीन बजे चितुवा खोरमा परेको छ ।’ सो चितुवा व्यवस्थापनका लागि वन डिभिजनसँग अनुरोध गर्दा दुई दिनसम्म बेवास्ता गरेको उनले बताइन् ।
‘चितुवालाई खोरमा त पारियो, तर अब यसलाई कसरी व्यवस्थापन गर्ने भनेर वन डिभिजन कार्यालयसँग परामर्श लिँदा कार्यालयले ल ल हामी गर्छौँ मात्रै भनेर दुई दिन बितायो’, उनले भनिन् । वन डिभिजन कार्यालयले भने शनिबार साँझ चितुवा ब्यबस्थापन गरेको जनाएको छ ।
‘हामीले चितुवालाई व्यवस्थापन गरेका छौँ’, डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले भने । चितुवालाई परको जङ्गलमा लगेर छाडिएको उनले बताए ।




