
बैशाख १०, ११ र १२ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने
बैशाख १०, ११ र १२ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ७, गोहोरेको जनकल्याण माध्यामिक विद्यालयमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
जिल्ला स्तरीय प्रतियोगिता अगावै स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न गरिने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए । ‘बैशाख ७ गतेभित्र स्थानीय तहस्तरीय प्रतियोगिता हुन्छ ।’ स्थानीय तह स्तरमा हुने प्रतियोगिताको जिम्मेवारी स्थानीय तहलाई नै दिईएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलमा १८ बर्ष उमेर ननाघेका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् ।
स्थानीय तथा जिल्लास्तरमा एकै किसिमका प्रतियोगिता हुनेछन् । प्रतियोगिता मा भलिवल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका खेलमा छात्र छात्रा बिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । जिल्लास्तरीय प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट पाँच लाख रुपैयाँ प्राप्त भएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न ११ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । अपुग रकम आन्तरिक स्रोतबाट ब्यबस्थापन गर्ने तयारी भैरहेको कार्यालय प्रमुख पञ्चबहादुर राईले जानकारी दिए।




