
वनमा डढेलो कसले लगाउँछ ?
जथाभावी लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भइरहेको खबर सार्वजनिक भइरहेका छन् ।
वायु प्रदूषण बढाउनुमा वन डँढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताइरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।
जिल्ला वन कार्यालय गोरखाका वन अधिकृत महेश पौडेल भन्छन, ‘गोरखामा यो सिजनमा करिब ५० ठाउँमा आगलागी भयो, तर, आगजनी गर्ने एकजना व्यक्ति मात्र पहिचान भए । सबैठाउँमा आगजनी गर्ने व्यक्ति पहिचान हुन सकेनन् ।’ गोरखाका यो सिजनमा ५० ठाउँमा आगलागी हुँदा धार्चे गाउँपालिका–३ उहिँयाका गोपाल सुनारको मात्र पहिचान भएको थियो । उनलाई पक्राउ गरेर वन क्षेत्रमा आगजनी गरेको अभियोगमा मुद्धा चलाइएको छ ।
‘५० ठाउँमा आगजनी हुँदा एकजना मात्र पक्राउ परे । आगलागी पनि जघन्य अपराध हो भन्ने बुझाइ हुन सकेन । त्यो अनुसार आगजनी गर्ने व्यक्ति पहिचान गर्न चासो पनि कम भएको हो,’ पौडेल भन्छन, ‘आगजनी भएको सबै ठाउँका व्यक्ति पहिचान गरेर कारवाही गर्ने हो भने घटना दोहोरिने थिएन । तर, जहाँतहीँ आगजनी गर्ने व्यक्ति लुकाउने गरिन्छ ।’
वन ऐन २०७६ ले फौजदारी मुद्दाअनुसार वनमा आगजनी गर्ने व्यक्तिलाई कारवाहि गर्ने व्यवस्था गरेको छ । त्यस अनुसार ६० हजार रुपैयाँ जरिवाना वा ३ वर्ष कैदको व्यवस्था भएपनि त्यो अनुसार कार्यान्वयन हुन नसकेको उनले बताए । ‘मिलेमतोमा आगजनी गर्ने व्यक्ति पहिचान नभएको हो ।
आगो लागेपछिको क्षति अधिक हुन्छ । तर, आगजनी गर्ने व्यक्ति खोजेर कारवाही गर्ने भन्दा पहिले नै आगो लाग्न नदिनेतर्फ मात्र सचेतना बढेको छ’, पौडेल भन्छन्, ‘आगजनी गर्ने व्यक्ति पहिचान गरेर धमाधम कारवाही गर्ने हो भने सचेतना बढिहाल्छ ।’ गोरखामा सामुदायिक वन क्षेत्रमा अधिक आगलागी भएको उनले बताए ।
आगो नियन्त्रणको पुरानै शैली
वन क्षेत्रमा आगजनी भइहालेमा निभाउने तरिका पनि पुरानै रहेको वन अधिकारी बताउँछन् । पर्याप्त सामग्री अभावमा आगजनी नियन्त्रणमा सहज नभएको उनीहरुको भनाइ छ । जिल्ला वन कार्यालय गोरखाका वन अधिकृत महेश पौडेल भन्छन्, ‘आगलागी भइहाल्यो भने नियन्त्रणको शैली परम्परागत नै छ ।
अग्नी नियन्त्रण गर्ने नयाँ प्रविधि नै भित्रिएको छैन । त्यसले गर्दा पनि आगलागी नियन्त्रणमा आउन कठिन हुन्छ । आगलागी भएपछि नियन्त्रणमा ल्याउन हिउँ र पानी पर्नुको विकल्प नरहेको उनले बताए ।
तनहुँका वन अधिकृत कोमलराज काफ्ले पनि अहिले जंगलमा आगजनी हुँदा नियन्त्रणको शैली भनेको फायरलाइन बनाउने, स्याउलाले पिट्ने, माटो खनेर पुर्ने, पानीको पहुँच भए भाडाकुँडामा बोकेर निभाउने मुख्य तरिका हुन् । तर, अप्ठेरोमा लागेको आगो नियन्त्रणका लागि जाने अवस्था नरहने उनले बताए ।




