| आइतवार, कार्तिक २२, २०८३

पालुङ्टारमा ६२ करोड रुपैयाँको वृहत खानेपानी आयोजना

पालुङ्टार नगरपालिकाको शहरोन्मुख क्षेत्र वडा नं. १ देखि वडा नं. ६ सम्मको क्षेत्रमा ६२ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । संघीय सरकारले नगरपालिकासंगको साझेदारीमा छ वटा वडाका घरधुरीमा वृहत खानेपानी आयोजना सञ्चालन गर्न लागेको हो ।

सो आयोजना सञ्चालनका लागि साझेदारी गर्ने प्रस्ताव नगरपालिकाको हिउँदे सभाले अनुमोदन गरेको छ । हिउँदे सभा अन्तर्गतको बुधबारको बैठकले ६२ करोडको एक प्रतिशत रकम नगरपालिकाले योगदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।
‘कूल लागतको एक प्रतिशत योगदान उपभोक्ताहरुले गर्ने भन्ने व्यवस्था रहेछ । त्यसबराबरको रकम नगरपालिकाले योगदान गर्ने निर्णय भएको छ’, उनले भने ।

त्यस्तै जारी हिउँदे सभाले नगरखेलकुद परिषद ऐन पनि पास गरेको छ । नगरपालिकाभित्र सञ्चालन गरिने सबै खेलकुदका गतिविधिलाई व्यवस्थित गर्न सो ऐनले सहज बनाउने उद्देश्यले सो ऐन ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

त्यस्तै बुधबार सम्पन्न हिउँदे नगरसभाको दोस्रो बैठकमा व्यवसाय दर्ता ऐन, नगर प्रहरी ऐन र वातावरण ऐन पनि प्रस्तुत भएको छ । सो ऐनका विभिन्न दफाका बिषयमा विस्तृत अध्ययन गरी निश्कर्ष पेश गर्न समिति बनाइएको छ । समितिले पेश गरेको रायको आधारमा अर्को बैठकले अनुमोदन गरी ती ऐनहरुलाई अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्