
स्वाँरामा सञ्चालित स्वास्थ्य शिविरमा ९२४ जनाको स्वास्थ्य उपचार
बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३ स्वाँराको माझथरमा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा स्थानीय नौसय २४ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
बुधबार र बिहिबार सञ्चालिन गरिएको निशुल्क स्वास्थ्य शिविरमा वडा नं. ३ स्वाँरा र वडा नं. ४ सौरपानीका बिरामीहरुको उपचार गरिएको स्थानीय सलिना गुरुङले जानकारी दिइन् ।
शिविरमा भिडियो एक्सरे, प्रशुती तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोगका बिरामीहरुको उपचार गरिएको थियो ।
त्यस्तै नाक कान घाँटीका बिरामीहरुको, पेटसम्बन्धी र घाउचोट सम्बन्धी उपचार सेवा सञ्चालन गरिएको थियो ।
सबैभन्दा धेरै स्त्री तथा प्रसुती रोगका बिरामी रहेको पाइएको गुरुङले जानकारी दिइन् । त्यस्तै हाडजोर्नीका बिरामीहरु पनि धेरै संख्यामा रहेको पाइएको उनले बताइन् ।
उनीहरुलाई निशुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो ।
बिरामीहरुको पोखराका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका थिए । साथै गाउँपालिकाको र वडा नं. ३ र ४ मा रहेका स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य सेवा दिएका थिए ।
बारपाक सुलीकोट गाउँपालिका कर्माफ्लाइट फाउण्डेशन पोखराको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
वडा नं. ३ का अध्यक्ष सुकबहादुर तामाङको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन सत्रको प्रमुख अतिथि गाउँपालिकाका प्रमुख विष्णु भट्टले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै कर्म फ्लाइट्स फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँबरले आगामि दिनमा पनि सो क्षेत्रमा स्वास्थ्य सेवा दिइरहने बताएका थिए ।




