| आइतवार, कार्तिक २२, २०८३

खोला नदी दोहनको हद :किसानको चिन्ता : खोला गहिरियो, हातमुख जोर्न नपाइने भो

बर्षेनी नदीजन्य सामग्रीको दोहन बढ्न थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाका दरौँदी, बूढीगण्डकी, चेपे, मस्र्याङ्दी तथा त्रिशुली किनारमा दोहन बढेपछि सिँचाइ गर्न कठिन हुने भन्दै स्थानीयबासी चिन्तित भएका हुन् ।

गोरखा नगरपालिकाको बेनिखोला, बोहोरावेशी, खत्रीवेशीफाँट, १० किलोफाँटका किसानहरुले नदी दोहनले खोला गहिरिएको, खेतमा सिँचाइ गर्न नपाइएको लगायतका चिन्ता ब्यक्त गरेका छन् । बेनिखोला, बोहोरावेशीका किसान भने नदीदोहन नियन्त्रण माग गर्दै आन्दोलित भएका छन् ।
दराँैदी छ फिटभन्दा धेरै गहिरिएको त्यस क्षेत्रका बासिन्दाको गुनासो छ । दरौँदी नदिमा भएको नदिजन्य पदार्थ उत्खननले परम्परागत कुलो मासिने जोखिम बढेको भन्दै बेनीखोला र छेवेटारका किसानले उत्खनन रोकेका छन् ।

‘खोला गहिरियो । धान रोप्ने खेत धेरै नै उँभो भइसक्यो । कुलो माथि, बाँध कता हो कता तल छ’, गोरखा नगरपालिका १२ खत्रीफाँटकी किसान प्रभा कुमाल भन्छिन्, ‘खेतीपाती गरेर खाने ठाउँ मासिँदै गयो । हामी कुमाल समुदायको कसैको पुर्जा भएको खेत छ, ऐलानी छ । ऐलानी खेत त बाँकी रहेन, रहेन । पुर्जा भएको खेतमा पनि पानी लगाउन नपाएर बाँझो पल्टिने भयो ।’ नदीजन्य सामग्रीको दोहनका कारण गरिखान नपाइने भयो भनेर गाउँले चिन्तित भएको पनि उनले बताइन् ।

बगरको ढुंगा, गिटी, बालुवा निकालेपछि बाँध गहिरिदै गएकोमा गाउँले दुखी भएको अर्का स्थानीय गणेश कुमालको गुनासो छ । ‘चैत जान लागिसक्यो, हामीले अहिलेसम्म खेत रोप्न पाएका छैनौँ’, कुमाल भछन्, ‘एक महिना हुन लाग्यो, बगरमा डोजर चलेको । ग्राभेल निकालेको अनुसारले बगरजति सबै पानीमिल्दो भइहाल्यो । बाँधहरु सबै उत्रिसके । अब हामीले कसरी कुलोमा पानी चलाएर खेत रोपेर खाने हो ?’
लालपूर्जा नभएको बगरको कुनाकानीमा खेत रोपेर खानेहरुलाई समस्या भएको कुमाल समुदायको चिन्ता छ । ‘हामी दुखी गरिब हो । पुर्जा भएको माटो थोरै छ । अलिअलि छेउकुना गरेर जहान परिबार पाल्ने आश हुन्छ’, उनी भन्छन्, ‘अब अहिले हामीले गरिखाने ठाउँ भएन । दुखी गरिब मर्ने बाटो मात्र भइरहेको छ ।’ नगरपालिकाको सरकारले दुखी गरिब किसानको मुख नहेरेको भन्दै उनले गुनासो पोखे ।

बगरमा जताततै डोजर चलेपछि बर्खाको बेला दरौदी नदी हेरिनसक्नु भएर फैलने अर्का किसान कलुबहादुर कुमालको चिन्ता छ । ‘अहिले यता हे¥यो यतै गुटुङटुङटुङ डोजर चलेको छ । उता हे¥यो त्यस्तै छ’, कुमाल भन्छन्, ‘बर्खा लागेपछि दरौदी वारिपारि जताततै समरथ्थै बनाइदियो । दरौँदी जताततै नाच्ने बनाइदियो । गरेर खाने ठाम पाइएन । पशुपंक्षीको चरन पनि डोजर लाएर हु¥याइ दिए । मान्छेलाई पनि कष्ट, गाईभैँसीलाई पनि कष्ट ।’ गाउँका दुखी गरिब किसानले बिराएर खाने ठाउँ नरहेको भन्दै उनले गुनासो गरे ।


‘हामी त खत्रीवेशीफाँटका गरिप मान्छे । दुईचारवटा सुर्का बिराएर खाइरहेको थियौँ । अहिले त्यो पनि पाइएन’, कुमाल भन्छन्, ‘गरिप मान्छे लालपूर्जा भएको खेत धेरै जोड्न पनि सकिएन । हिउँदभरि गाई चराउने, बर्खा लागेपछि खेत रोप्ने यही दुई चार सुर्का थियो । यो पनि डोजर लाइदिए । अब हामीले के खाने, गोठका गाईबस्तुले के खाने ? दुईचार पैसा आउँछ भन्दैमा नगरपालिका सरकारले गरिब गुरुवाको मुख हेरेन ।’ बिगत बर्षमाझैँ जुडीधान रोप्ने बेला भइसक्दा पनि सिँचाइ कुलो नहुँदा यो बर्ष चैते धान नरोपिएको उनीहरुको गुनासो छ ।
‘पानीको मुहानै चलेको छैन त कसरी खेत रोप्ने ?’, गणेश कुमाल फेरि भन्छन्, ‘खेत जोतिसक्यो, खेत रोप्न पाएको छैन ।

पानीकै कारणले हो । बाँध भन्दा खेत अग्लो भयो । पानी उतार्न नसकिने भयो ।’ ८० लाख खर्च गरेर भर्खरै निर्माण गरेको नहरमा पानी चढ्न नसकेको उनले बताए । ‘८० लाख खर्च गरेर कुलो त बनाएको छ । तर बाँधबाट पानी चढ्ने सम्भावना छैन’, उनले भने, ‘दुईचार जना ठेकेदार, ट्याक्टर डूाइभर, टिपर डूाइभर, जेसिबी डूाइभर मोटाउने भए । किसानी गर्नेहरु मर्ने भए ।’
आईईईमा उल्लेख भएअनुसार एकदेखि डेढ मिटर गहिरो गरी उत्खनन गर्न ठेकेदारलाई अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

अनुमति पत्रमा उल्लेख भएको भन्दा बढि उत्खनन नगरिएको व्यवसायीहरुको भनाइ छ । कानूनी रुपमा वैध भएपनि दोहनले सामाजिक तथा प्राकृतिक रुपमा भने दीर्घकालीन असर गरिरहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्