
गोरखामा सुन्तला उत्पादन पनि घट्यो, खेतीहुने ठाउँ पनि घट्दो
‘गोरखा(विशेष गरी मनकामना)को सुन्तला’ देशभर प्रसिद्ध छ । राजधानीलगायतका ठूला सहरमा ‘गोरखा(मनकामना)को सुन्तला’ ब्राण्ड नै बनेको छ ।
सरकारले पनि गोरखामा ‘सुन्तला जोन’ खडा गरी परियोजना लागु गरेको छ ।
यो खुशीको कुरा हो ।
तर यसबर्ष गोरखामा सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । सुन्तला उत्पादनमा मात्र नभै सुन्तला खेती हुने जमिनको क्षेत्रफल नै साँगुरिएको छ ।
‘गतवर्ष पाँच सय बाह्र हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । यो वर्ष घटेर चार सय ६० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती भएको छ’, सुन्तला जोन कार्यालय प्रमुख कुलप्रसाद अधिकारीले भने, ‘अघिल्लो वर्ष छ हजार चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
यो वर्ष जम्मा पाँच हजार नौ सय ८० मेट्रिकटन मात्रै उत्पादन भएको छ ।’
गोरखाको शहिदलखन गाउँपालिका, मनकामना मन्दिर क्षेत्र, गण्डकी गाउँपालिकाको ताङ्लिचोक, गोरखा नगरपालिकाको नारेश्वर, फिनाम र बगुवाको उत्तर पट्टिको क्षेत्रमा सुन्तला धेरै उत्पादन हुने गर्छ ।

विभिन्न रोगको कारण सुन्तला तथा सुन्तला जातका बिरुवा(अमिलो जातका विरुवाहरु) मर्दै गएकाले उत्पादनमा कमी आएको कार्यालयको बुझाइ छ ।
एक हजार मिटर भन्दा कम उचाइ भएका ठाउँहरुमा सुन्तला तथा सुन्तला जातका बिरुवाहरु सित्तैमा किसानलाई वितरण गर्दा पनि त्यसबाट किसानले अपेक्षित लाभ लिन नसकेको अधिकारीले बताए ।
सुन्तला उत्पादन तथा सुन्तला खेतीमा गिरावट आउदै गएपछि कार्यालयले बगैँचा सुदृढिकरण अभियान सञ्चालन गरिरहेको छ । केही वर्ष यता गोरखामा सुन्तला जोनको छुट्टै कार्यालय संचालन भएर काम भएपनि उत्पादनमा वृद्धि हुन भने नसकेको कार्यालयको भनाइ छ ।
५५ वटा कृषि फर्म तथा समूहलाई सुन्तला बगैँचा सुधार गर्दै उत्पादन बढाउन चुना, निलो तुथो, सिकेचर तथा विषादीहरु ५० प्रतिशत अनुदानमा वितरण गरेको कार्यालयका कृषि प्राविधिक सचिन विष्टले बताए ।
सुन्तला तथा सुन्तला जात क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सात सय ५५ वटा बिरुवा पाँच वटा फर्मलाई वितरण गरिएको उनको भनाइ छ । ‘यो आर्थिक वर्षभित्र करिब १२ हजार देखि १५ हजार बिरुवा वितरण गर्ने योजनामा छौँ’, विष्टले भने ।
कुन समूह तथा फर्मलाई कति आवश्यकता छ, विगतका वर्षमा पाए नपाएको सिंचाई स्रोतको उपलब्धता सबै कुराको सर्वेक्षण गरेर अनुदानका लागि छनोट गरिने कार्यालय प्रमुख अधिकारीले बताए । ‘मरेको बोटलाई हटाउनुपर्छ, नहटाउँदा त्यसमा भएको ब्याक्टेरियाले फेरि नयाँ बोटहरुलाई पनि असर गर्छ’, उनले भने ।
बिरुवा मासिएको तीन वर्षपछि रोग पनि हट्ने भएकाले फेरि नयाँ उपयुक्त बिरुवा सोही ठाउँमा लगाउँदा उत्पादन राम्रो लिन सकिने उनले बताए ।




