
एकै दिन गोरखाका २० भन्दाबढि जंगलमा डँडेलो
गोरखाका जंगलमा डँडेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ । बिहिवार राती गोरखाका २० भन्दाबढि जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ ।
बारपाक सुलिकोट ६ को ताकुकोट, वडा नं. २ को मान्द्रे नजिकैको जंगल, शहिदलखन २ मनकामना, पालुङटार ९ धुवाँकोट लगायत बिभिन्न ठाउँमा आगोलागेको जानकारी आएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए ।
‘चैत महिना लागेदेखि डँडेलो बढेको छ, जताततैबाट वनमा आगलागी भएको खबर आउँछ’ उनले भने । गोरखा सदरमुकामको दरबार क्षेत्रको वनमा पनि केहीदिन अघि आगो लागेको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले नेपाल टेलिकमको टावरमा असर पुग्ने भएपछि आगो नियन्त्रणमा लिएका थिए ।
चैत महिनामा हरेक वर्ष गोरखाका सामुदायिक वन डँडेलोका कारण उजाड हुने गर्छ । ‘गत वर्ष यो समयमा भन्दा अहिले धेरै डँडेलो देखिन्छ’, सुचना अधिकारी पौडेलले भने । गोरखाको सिरानचोक, अजिरकोट, भिमसेन थापा, धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा पनि वन डँढेलोले सखाप भएको छ । सबैजसो डँडेलो मानिसले लगाएका हुन्छन् । ‘खेतवारी नजिक जंगल छ भने मलको लागि, नयाँ पालुवा घाँसको लागि, झाडी पन्छाउन भनेर आगो लगाउने प्रवृत्ति देखिन्छ’ सुचना अधिकारी पौडेलले भने ।
सदरमुकाम आसपासका क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि अन्यत्र आगो लाग्दा नियन्त्रणमा लिन समस्या छ । भिरालो जमिन, कम जनशक्ति, आगो नियन्त्रणमा लिने यन्त्र उपकरणको कमीका कारण वन सखाप हुने गरेको छ ।
वन डँडेलो लाग्दा जडिवुटी पाईने गोरखाको धार्चे, बारपाक सुलिकोट गाउँपालिका जंगलहरुमा सतुवा, चिराईतो मासिएको छ ।
मृग घोरल, वनकुखुरा, कालिज जस्ता संरक्षित जनावरको बासस्थान घट्ने, जनावर लोप हुने, डँडेलोमा पोलिने, मर्ने खतरा रहेको वन कार्यालयका अधिकृत महेश पौडेले बताउँछन् ।
आगलागीबाट मानवीय समेत भएको छ । आरुघाट गाउँपालिका वडा नं ७ सातदोबाटोमा रहेको सातदोबाटो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक वृद्धको मृत्यू भएको हो । वनको आगो घर नजिकैको पारालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षीय मोहन फेवाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैँसीलाई डँडेलोले पोलेको छ । जंगलमा लागेको डँडेलोबाट चरनमा लगेको भैँसीलाई पोलेको शंखे रम्तेलले बताए । भैँसीको शरीरको बिभिन्न भागमा पोलेको छ । ब्याउने बेला भएको भैँसी डँडेलोले पोल्दा रम्तेल चिन्तित छन् । जथाभावी डँडेलो लगाउँदा पछिल्लो समय पशु चौपाएमा पनि खतार बढेको छ ।
डँडेलो लगाउनेलाई ६० हजार जरिवाना र तीन वर्ष कैद सम्मको सजाया हुन सक्छ । तर डँडेलो लगाउने ब्यक्तिबारे समुदायका मानिसले सुचना दिँदैनन् ।
आगो लगाउनेलाई कारवाहीको दायरामा ल्याउन नसक्दा वन डढेको डढ्यै छ । ‘सामुदायिक वनका उपभोक्ताहरुलाई सचेत गराईएको, डँडेलो नलगाउन सार्वजनिक सुचना जारी गरिएको तर डँडेलो भने नरोकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । ‘वन आगलागी हुँदा पर्यावरणमा पनि असर पुग्छ’ वन अधिकृत पौडेल भन्छन् ‘दिर्घकालिन रुपमा मानविय स्वास्थ्यमा पनि असर पुग्छ ।






