
एक सय ५० भन्दाबढि पशुफर्म र किसानलाई अनुदान बितरण गरिँदै
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु वर्ष एकसय ५० भन्दाबढि फर्म तथा किसानलाई अनुदान बितरण गर्ने जनाएको छ । दर्ता भएका ब्यवशायीलाई अनुदानमा प्राथमिकता दिँदै आएको कार्यालयले पशुपालनको फरक–फरक क्षेत्रमा अनुदान बितरण सुरु गरिसकेको जनाएको छ ।
‘सानो व्यवसाय तथा फर्म स्थापना तथा विस्तार कार्यक्रम’ अन्तर्गत ५८ वटा फर्मलाई अनुदान दिने गरी सञ्चालन गरिरहेको कार्यलयका पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेलले बताए । ‘केही अनुदान बितरण भईसक्यो, केहीचाहिँ वितरणको प्रक्रियामा छ’ उनले भने ।
फर्म यान्त्रिकरणअन्तर्गत १८ वटा फर्म, उन्नत जातको व्याडबोका वितरणअन्तर्गत १८ फर्म, गाई ब्लकअन्तर्गत एउटा दुग्ध सहकारी, भैसी विकास कार्यक्रमअन्तर्गत एउटा सहकारी, बाख्रा पकेट क्षेत्र विस्तारअन्तर्गत एउटा सहकारीले अनुदान पाउनेछन् ।
यो प्रक्रिया चलिरहेको उनले बताए ।
नयाँ माछा पोखरी निर्माणका लागि १३ वटा फर्मले अनुदान पाउनेछन । उक्त पोखरी निर्माणका लागि सरकारी अनुदान एक रोपनी बराबर पच्चीस हजार रुपैयाँ किसानले पाउँछन् ।
आवेदन दिने पशुपालक किसानलाई प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । पुरानो माछा पोखरी भएकाहरुको हकमा भने मर्मतका लागि एक रोपनी बराबर पच्चीस सय रुपैँया किसानले पाउने व्यवस्था रहेको पशु चिकित्सक पौडेलले बताए ।
मासु पसल सुधार तथा नयाँ निर्माण अन्तर्गत आठ वटा पसलको कोटा भए पनि तीनवटा पसलले मात्र अनुदान पाएका छन् ।
मापदण्ड अनुरुप तयार नगरिएको, सरसफाईमा कमि भएका मासु पसल छनौट नभएको कार्यालयले जनाएको छ । त्यसैगरी घाँस नर्सरी स्थापना अन्तर्गत चार वटा फर्मको कोटा रहेपनि तीनव वटा फर्मले मात्रै आवेदन दिएका छन् ।




