
आँबुखैरेनी १ मा नागरिक अरोग्य केन्द्र स्थापना
तनहुँको आँबुखैरेनी गाउँपालिका १ मा नागरिक अरोग्य केन्द्र स्थापना भएको छ । आयुर्वेदिक पद्धतिबाट उपचार गर्न आरोग्य केन्द्र स्थापना गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जनाएको छ ।
उक्त केन्द्रको सोमवार गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले उद्घाटन गरेकी हुन् । आयुर्वेद पद्धतिबाट उपचारसँगै सर्वसाधारणलाई स्वस्थ रहने उपाए, तौर तरिका, योगा, ध्यानका बारेमा पनि केन्द्रले जानकारी दिने उपाध्यक्ष श्रेष्ठले बताईन् ।
अहिले वडा नम्बर १ को मेलमिलाप केन्द्रबाट आरोग्य केन्द्रले सेवा सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेलले पछिल्लो समय आयुर्वेद प्रति सर्वसाधारणको विश्वास बढ्दै गएकाले जनताले सहज सेवा लिन सक्ने बताए ।
आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेद उपचारमा जोड दिनुपर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष देवीबहादुर बस्नेतले बताए ।
तनहुँको १० वटै स्थानीय तहमा नागरिक आरोग्य केन्द्र संचालन गर्ने योजना अनुसार अघि बढेको उनले बताए ।




