
महामारी रोकथामको तयारी बारे छलफल
गोरखामा आइपर्न सक्ने महामारी रोग तथा विपद्को कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला बीच छलफल भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमवार भएको छलफलमा सरोकारवालाहरुले महामारी रोकथाम र नियन्त्रणका लागि सरोकारवाला सबैसँग सहकार्य गरेर योजना बनाउन सुझाब दिए ।
स्थानीय तह, संघ, प्रदेश मातहतका जिल्लाका कार्यालय, बिपद्मा काम गर्ने संघ संस्थालाई समेटेर महामारी रोग तथा बिपद् ब्यवस्थापनको योजना बनाउन सुझाब दिए । साथै आउन सक्ने अनुमान गरिएको दोस्रो चरणको कोभिड रोकथामको बारेमा पनि प्रारम्भिक छलफल भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, चिकित्सकहरु, सरकारी कार्यालय तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कोभिड १९ को महामारी झेलिरहेको समाजलाई ध्यानमा राखेर अबको योजना बनाउन प्रमुख जिल्ला अधिकारी पौडेलले सुझाब दिए ।
स्थानीय तहलाई पनि सहभागी गराएर योजना बनाउँदा अझै प्रभावकारी हुने सहभागीले सुझाब दिएका थिए ।
उक्त गोष्ठीमा गोरखा अस्पतालका डाक्टर सुरज ढकालले बिपद्पछि आउन सक्ने महामारीको प्रकृतिका बारेमा जानकारी गराएका थिए ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन नारायणबाबु अर्यालले कार्ययोजनामा समेटिनुपर्ने विषय र पक्षहरुको बारेमा जानकारी गराएका थिए । निमित्त स्वास्थ्य कार्यालयका प्रमुख नरजंग ठकुरीले महामारी रोगको रोकथाम र योजना बनाई प्रतिकार्य गर्न, जनधनको क्षति न्यूनिकरण गर्न उचित समयमै योजना अत्याबश्यक रहेको बताएका थिए ।




