
बिओपी राख्दा अहिंसा क्षेत्रको नीतिनियम पालना गर्न चुमबासीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने तयारी भइरहँदा स्थानीयबासीले अहिंसाको नीति नियम कडा रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । चुम स्याग्या संरक्षण समितिले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै बिओपी राख्दा स्थानीय अहिंसा सम्बन्धी नीति नियम उल्लंघन हुन नदिन जोडदार माग गरे ।
‘चुम उपत्यका बिक्रम संवत १९७७ देखि स्याग्या(अहिंसा) क्षेत्र घोषणा भएको क्षेत्र हो । अहिले अहिले चुम उपत्यकामा बिओपी स्थापना गर्दा त्यहाँको मौलिक नीति नियममा कत्तिपनि आँच आउन दिनुहुदैन भन्नेमा हामीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छौँ’, संरक्षण समितिका संरक्षक निमा लामाले भने, ‘बिओपी स्थापना गर्न हामीले सहयोग पनि गर्छौँ तर अहिंसासम्बन्धी छ वुँदे नीति नियम छ ।

त्यसलाई स्थानीयबासीले झैँ सशस्त्र प्रहरीले पनि कडाइका साथ पालना गर्नुपर्छ भनेर गृहमन्त्रीसमक्ष माग राखेका छौँ । गृहमन्त्रीले पनि संरक्षणसम्बन्धी मौलिक नीति नियम राज्यको पनि सम्पत्ति भएकाले सोको मर्म र भावनालाई आँच आउन नदिने प्रतिवद्धता जनाउनु भयो ।’ काटमार गर्न नपाइने, जंगली जनावरलाई धपाउन नपाइने, डँडेलो लगाउन नपाइने, मासु खाने प्रयोजनले पशुपंक्षी किनबेच तथा ओसारपसार गर्न नपाइनेलगायतका छ वुँदे आचार संहिता पालना गर्नुपर्नेबारे ज्ञापनपत्रमा उल्लेख रहेको उनले बताए ।
चुम स्याग्या संरक्षण समितिका संरक्षक निमाले गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरेको सो ज्ञापन पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय गोरखा, सशस्त्र प्रहरी कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र मनास्लु संरक्षण क्षेत्रलाई पनि दिइएको छ ।








