
उपचार नपाएर घरमै थलिएकालाई काङ्ग्रेस नेताहरुद्वारा उपचारको प्रबन्ध
उपचार खर्च अभावका कारण घरमै थला परिरहेका गोरखाका एक विपन्न पुरुषलाई नेपाली काङ्ग्रेसका नेताहरुले खर्चको प्रवन्ध गरी उपचार गर्न पठाएका छन् । टाउकोको रोगले ग्रसित पालुङटार नगरपालिका ९ सिस्नेरीका कामी माहिला भनिने शिवराम विकलाई शनिबार उपचार खर्च जुटाएर चितवन मेडिकल कलेज पठाइएको हो ।
काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अव्दुल सतार, गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङ, नेपाली काङ्ग्रेसका गोरखा नगर सभापति चन्दन खत्री लगायतका नेताले बिकको घरमै पुगेर खर्च जुटाएर उपचारका लागि पठाएका हुन् ।
उनी बिगत एकसातादेखि रोगले ग्रस्त थिए ।
नेपाली काङ्ग्रेस, पालुङ्टार नगरपालिका ९ का वडा सभापति तेजबहादुर थापाको मृत्यू पछि परिवारलाई समवेदना दिन सो गाउँमा पुगेका बेला बिक सिकिस्त भएको तर खर्च अभावका कारण उपचार नपाएको जानकारी पाएपछि नेताको टोलीले पैसा जुटाएर बिरामीलाई भरतपुर पठाएको हो ।
‘हामी समवेदना दिन पुगेको घर छेउसँगै अर्का बिरामी मरणासन्न अबस्थामा ओछ्यानमा थला परेको देख्यौँ’, मुस्लिम संघका केन्द्रिय अध्यक्ष सतारले भने ‘लागेको उपचार खर्च जुटाउँला, तत्काल उपचार गर्न जानुस् भनेर एम्बुलेन्स खर्च र थप केही रकम जुटाएर भरतपुर पठायौँ ।’ बिरामी लिएर परिवार भरतपुर अस्पताल गएका छन् । उपचार गराउँदा रोग निको हुने देखिएको र नगराई बस्दा ज्यान जाने खतरा भएकाले उपचार गर्न सहयोग गरेको उनले बताए ।




