
गोरखाका सिडिओले अपाङ्गता भएकालाई घरैमा पुगेर नागरिकता दिए
गोरखा नगरपालिका वडा नम्बर ४ कि हरिमाया थापालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता बितरण गरेको छ ।
पूर्ण अपाङ्गता भएकी उनको नेपाली नागरिकता लिने उमेर भएको तर प्रशासन सम्म आउन समस्या भएपछि २१ वर्षिय थापालाई घरैमा गएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) शालिग्राम शर्मा पौडेलले बताए ।
नागरिकता नहुँदा उनले शारीरिक अशक्त भएकाले पाउने सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएको वडा अध्यक्ष रामशरण अधिकारीले बताए । वडा कार्यालयमा उक्त बिषयबारे जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेर नागरिकता उपलब्ध गराइएको उनले बताए । शनिवार प्रमुख जिल्ला अधिकारी सहितको टोली नागरिकत दिन गोनपा ४ फिनाम स्थित थापाको घर पुगेका हुन् ।
बिदाको दिन अन्य ठाउँमा पूर्ण अपाङ्गता भएका, आउन नसक्ने ब्यक्तिहरु भएमा स्थलगत पुगेर बितरण गर्न सकिने प्रजिअ पौडेलले बताए । प्रशासन कार्यालयले अशक्त भएकालाई घरैमा पुगेर नागरिकता दिँदा सर्वसाधारणले ठुलो राहत महशुस गर्ने हुँदा यो अभियानलाई निरन्तरता दिनुपर्ने गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन् ।




