
गोरखामा जनगणनाको लागि चार सय २५ गणक खटिने
आगामी वैशाखदेखि गोरखामा सञ्चालन हुने जनगणनाका लागि चार सय २५ जना गणक खटाइने भएको छ । पहिलो चरणमा सुपरिवेक्षक र दोश्रो चरणमा गणकहरुबाट तथ्याङ्क लिइने तथ्याङ्क अधिकृत महेशप्रसाद ढुङ्गानाले बताए ।
सुपरिवेक्षकहरु पहिलो चरणमा वैशाख २६ गतेबाट जेठ १४ गतेसम्म परिचालन हुनेछन । उनीहरुले घरको प्रयोगसम्बन्धी विवरण, परिवारमा बसोबास गर्ने सवै महिला, पुरूष र अन्यको संख्या, परिवारले कृषि तथा पशुपालन कार्य गरेको भएमा सो सम्बन्धी विवरण संकलन गर्नेछन् । बैंक तथा वित्तीय संस्थामा खाता भए नभएको, ऋण लिए नलिएको, व्यवसायिक शिक्षा तथा तालिम लिए नलिएको र सरकारी अनुदानवाट आवासिय घर निर्माण गरे नगरेको समेत गणनाका क्रममा सोधिनेछ ।
दोश्रो चरणमा गणकहरु जेठ २५ गतेदेखि असार ८ गतेसम्म परिचालन हुनेछन् । गणकहरुले गोरखा जिल्लाभरि रहेका सम्पुणर् परिवारका सबै सदस्यहरुको सामाजिक तथा आर्थिक विवरणहरु संकलन गर्ने तथ्यांक अधिकृत ढुङगानाले बताए । जनगणनाका लागी गोरखामा कार्यालय स्थापना भएर काम सुरु भइसकेको छ । गणक तथा सुपरिवेक्षकहरु अनलाईन प्रक्रियाद्वारा छनोट भइरहेका ढुङगानाले बताए ।
वैशाख १६ गते देखि २२ गतेसम्म ६ दिन सुपरिवेक्षकहरुलाई र जेठको १७ देखि जेठ २३ गतेसम्म ७ दिन गणकहरुलाई कसरी तथ्यांक संकलन गर्ने भन्ने तालिम दिइनेछ । जिल्ला जनगणना कार्यालयले सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ । जिल्लामा २०६८ सालको जनगणना अनुसार दुई लाख ७१ हजार एकसट्ठी जना जनसंख्या रहेको थियो । सरकारले हरेक दश/दश वर्षमा जनगणना गर्दै आएको छ ।
गोरखामा रहेको तथ्यांक कार्यालयले गोरखा, लमजुङ र मनाङ हेर्ने भएपनि जनगणना २०७८ का लागी भने ति जिल्लामा पनि छुट्टै कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना सम्बन्धी काम गर्न आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा कार्यालय खोलिएको छ ।




