| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाको यसबर्षको बजेट एकअर्ब २२ करोड, कार्यान्वयन हुन नसकेका योजना कटौती गरेर नयाँ योजना तयार

गोरखा नगरपालिकाको बजेट एक अर्व २२ करोड ९७ लाख पुगेको छ । चालु वर्षको बजेटमा २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ थप भएसँगै संशोधित अनुमानित बजेट एक अर्व २२ करोड ९७ लाख २० हजार पुगेको हो ।


शुक्रवार सम्पन्न सातौँ नगरसभामा सो जानकारी गराइएको हो । गत असारमा सम्पन्न छैठौँ नगरसभामा चालु वर्षको बजेट ९९ करोड ४३ लाख ५१ हजार घोषणा गरिएको थियो । ‘नेपाल सरकारको सशर्त अनुदान, आन्तरिक आम्दानी, ऋण, सडक बोर्ड नेपाल, स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम लगायतबाट बजेट थप भएको छ’ गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठले भनिन् ।


यस अघिको नगर सभामा निणर्य भएका योजना र बजेट सातौँ नगर सभाले संशोधन गरेको छ । कार्यान्वयन हुन समस्या भएका र अन्य क्षेत्रमा अत्यावश्यक देखिएका ठाउँमा बजेट संशोधन गरिएको नगरप्रमुख राजनराज पन्तले बताए । वडा नम्बर १ मा बिभिन्न सात वटा शिर्षकमा बजेट संशोधन गरिएको छ । वडा नम्बर २ मा आठ वटा, ३ मा पाँच वटा, ४ मा नौ वटा, ५ मा दुई वटा, ६ मा चार वटा, ७ मा छ वटा, ८ मा आठवटा शिर्षक बदलिएका छन् । यस्तै ९ मा १० वटा, ११ मा एक, १२ मा सात, १३ मा चार र १४ मा दुईवटा योजना संशोधन भएका छन् । ‘बजेट फ्रिज भएर नजाओस् भन्ने दृष्टिकोणले वडाको माग र आवश्यकताका आधारमा सशोधन गरिएको छ’ नगरप्रमुख पन्तले भने ।


सातौँ नगर सभाले गोरखा नगरपालिकाको आर्थिक ऐन संशोधन २०७७, बिनियोजन ऐन, सहकारी ऐन, बतावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन पास गरेको छ । साथै गीता थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय लेखा समिति पनि गठन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।


नगर सभामा नगरप्रमुख एवं अध्यक्ष राजनराज पन्त, उपप्रमुख बिना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले लगायतले धारणा राखेका थिए । सबैजसो ऐन सर्वसम्मत सदस्यहरुले पास गरेका नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्