
खाद्य संस्थानको चामल माछाखोलामा रुचाइएन
बिगत लामो समयदेखि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको चामल खपत भइरहने माछाखोला मा अहिले लोकप्रियता घटेको छ । बजारका रोजाइका चामलहरु उपलब्ध भएपछि संस्थानको चामलको लोकप्रियता घटेको स्थानीय उपभोक्ताहरु बताउँछन् ।
कम्पनीको गोरखास्थित कार्यालयले चालु वर्ष माछाखोला डिपोमा चामल ढुवानी गरेको छैन ।
अहिले माछाखोला डिपोमा करिब एक क्विन्टल चामल बाँकी छ । माछाखोला डिपोका लागि कम्पनीले यो वर्ष पाँचसय क्विन्टल ढुवानी गर्ने कोटा निर्धारण गरेको थियो । तर कत्तिपनि ढुवानी भएको छैन । बजारका पसलमा चामल प्रशस्त पाइएको र मूल्य पनि समान रहेकाले स्थानीयले बजारबाटै किनेर उपभोग गर्ने गरेका कम्पनीका कार्यालय प्रमुख नबिन बस्नेतले बताए । ‘सडक पुगेको र बजारको चामल सहज पाउने भएपछि त्यहाँ बिक्री कम छ’ उनले भने ।
यस्तै सिर्दिवास डिपोको लागि चालु वर्ष तीन हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्नु पर्नेछ । अहिलेसम्म दुई हजार क्विन्टल पठाइसकेको कार्यालय प्रमुख बस्नेतले बताए । ‘त्यो मध्ये पनि एक हजार क्लिन्टल डिपोमा पुगिसकेको छ बाँकी बाटोमा ढुवानीको क्रममा छ’ उनले भने ।
सिर्दिवास खाद्य डिपोमा सोना मंसुली चामल प्रतिकिलो ५२ रुपैयाँ र जिरा मसिनो ६६ रुपैँया प्रति किलोमा कम्पनीले बिक्री गर्दै आएको छ । माछाखोलामा सोना मंसुली चामल प्रतिकिलो ४८ रुपैँया र जिरा मसिनो ६४ रुपैँया प्रति किलो रहेको छ ।
कम्पनीले खाद्यान्न ढुवानी सम्झौता अनुरुप कम्पनीको गोरखा स्थित कार्यालयदेखि डिपोसम्म ठेकेदारहरुलाई जिम्मा लगाउने गरेको छ । सिर्दिवास डिपोमा पाँच सय नौ क्विन्टल खाद्यान्न बाँकी रहेको बस्नेतले बताए ।




