
‘गुप्सीबस्ती बाहिर बोक्रो, भित्र खोक्रो’ प्लास्टिककै झ्यालढोका बनाएर घर हस्तान्तरणको तयारी
शिव उप्रेती
गोरखा : बाहिरबाट झट्ट हेर्दा शानदार देखिने यी घरहरु धार्चे गाउँपालिका ४ गुप्सीपाखाका हुन् । भूकम्पका कारण कुनै समय विस्थापित भएका लाप्राकका बासिन्दालाई पुनस्थापित गराउन गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो
हेर्दा मात्रै चिरिच्याट्ट देखिएको तर संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दा भने बेखुशी छन् ।
‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाअध्यक्ष राज गुरुङ भन्छन्, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ । सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन् । घर असुरक्षित भयो ।’ काठका झ्यालढोका बनाउन वडा कार्यालय र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाई नै नभएको भन्दै उनले गुनासो गरे ।
एनआरएनएले बस्तीमा पाँचसय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ । अब भूकम्प गएकै दिन पारेर बैशाख १२ गते स्थानीयबासीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ ।
सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैले बनाएका छन् । ‘भन्न त हामीले हस्तान्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए, तर मैले नै हो, सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङ भन्छन्, ‘जस्ता पनि यति कच्ची छ कि, वडाअध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो । अरु ३०, ३५ वटा घरको जस्ता प्वाल परेको छ ।’ एनआरएनएको भरमा पर्दा लाप्राकबासीले अरु धेरै अवसरहरु गुमाएका उनले बताए ।
‘गुप्सीमा सात बेडको अस्पताल बनाउन भनेर एउटा संस्थाले घुँडा टेकेर बल गरेको थियो । आफूले काम गरेको ठाउँमा अरु संस्थाले काम गर्न नपाउने भनेर एनआरएनएले छिर्नै दिएन’, उनले भने, ‘अहिले घरको न घाटको भयो । न संस्थाले बनाउन पायो, न एनआरएनएले बनायो । सौचालय आ–आफै बनाऊ, पैसा दिन्छु भनेको थियो, दिएन । घरमा प्रयोग भएको काठको १२ हजार सातसय रुपैयाँका दरले दिन्छु भनेको थियो, त्यो पनि अत्तोपत्तो छैन ।’ स्थानीयबासीसँग समन्वय र सहकार्य नै नगर्ने भन्दै स्थानीयबासी रुष्ट भएका छन् ।




