| आइतवार, कार्तिक २२, २०८३

अस्पताल सञ्चालनमा व्यवस्थापन समितिको असहयोग

गोरखा अस्पताल जिल्लाको सबैभन्दा ठूलो अस्पताल हो । निजी अस्पताल तथा जिल्लाभित्रका अन्य सरकारी, सामुदायिक अस्पतालको समेत यो अभिभावक अस्पताल हो । कुनैबेला विशेषज्ञ चिकित्सक नै नभएको यो अस्पतालमा अहिले नौ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
यति हुँदा पनि बिरामीको उपचार गर्ने यो अस्पताल अहिले आफै बिरामी छ । अस्पतालभित्रको गतिविधि अध्ययन गर्दा अस्पताल व्यवस्थापन समितिले नै अस्पताललाई बिरामी बनाएको बुझिन्छ ।

अस्पताल सञ्चालन गर्ने अन्य अवयवहरुमा चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासन कर्मचारीहरु पर्छन् । मुख्य सञ्चालक व्यवस्थापन समिति हो । तर व्यवस्थापकीय जिम्मेवारी सम्हालेको समितिले नै अस्पताल सञ्चालनमा असहयोग गर्ने गरेको छ ।
भर्खर, भर्खर गठन हुँदाताका समितिले हरदम सहयोग गरेको अवि स्मरणीय छ । तर अहिले समितिको बैठक बस्दैन । विविध महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने अबस्थामा समितिको बैठक नहुँदा काममा अवरोध भइरहेको छ ।

समितिले कर्मचारी नियुक्त गर्न मात्र जान्दछ, कर्मचारीलाई सेवा, सुविधाको स्रोत कसरी जोहो गर्ने भन्ने जान्दैन । जुन दरबन्दीमा यसअघि कर्मचारी थिएनन्, र खाँचो महशुस भई समितिले करारमा नियुक्त गरेको थियो, त्यो दरबन्दीमा सरकारी कर्मचारी आइसकेका छन् । अब आर्थिक भार पर्ने गरी करारका कर्मचारी राखिरहनु आवश्यक छैन, तर समितिले आर्थिक भार कटौती गर्न चाहँदैन, बरु उमेरहद कटेकालाई समेत नियुक्त गरेर अस्पताललाई आफ्ना मान्छे भर्तीकेन्द्र बनाइरहेको छ ।

अस्पताल अब नयाँ भवनमा स्थानान्तरण गर्ने समय भएको छ । अहिले अस्पतालमा जनशक्ति पनि मनग्ये छन्, तर यन्त्र उपकरणहरु छैनन् । यस्ता कुरामा समिति कानमा तेल हालेर बसिरहेको छ । काम नगरेर अस्पताललाई अनिर्णयको बन्दी बनाउनु भन्दा मैदान खालि गरिदिनु नै मनासिब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्