
गोरखा अस्पतालको आम्दानी थोरै खर्च धेरै
गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने । सातवटा बेड चलिरहेको अस्पतालले ५० शैयाको सेवा दिन सकेको छैन । समितिले भने ‘निकट’कालाई करारमा कर्मचारी भर्ना रोकेको छैन ।
नेपाल सरकारले दिने आमा सुरक्षा कार्यक्रमको अनुदान नौ लाख आठ हजार नौ सय, फार्मेसीमा औषधी बिक्रीबाट १५ लाख ९९ हजार, काउन्टरबाट ३६ लाख पाँच हजार चार सय ८० र स्वास्थ्य बिमाबाट ४५ लाख ६९ हजार नौ सय ६७ रुपैयाँ साउनदेखि माघ सम्म अस्पतालले आम्दानी गरेको छ । एक करोड ६ लाख आम्दानी गरेको अस्पतालको खर्च ९७ लाख भन्दाबढि छ । बचत कम हुँदा बिकास समितिसँग अस्पतालाई चाहिने यन्त्र उपकरण खरिद गर्ने, दक्ष जनशक्ति भर्ना गर्ने बजेट छैन ।
अस्पतालमा स्थायी दरबन्दीमा रहेका कर्मचारीका लागि मासिक ८ लाख १५ हजार तलबमा खर्च हुन्छ । समिति करारमा रहेका कर्मचारीका लागि तीन लाख ८७ हजार, कार्यक्रम करार तीन लाख ६३ हजार, प्रदेश करारका कर्मचारीलाई छ लाख ६० हजार तबलमा खर्च हुने गरेको छ । गोरखा अस्पतालले मासिक २२ लाख २६ हजार रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको बताएको छ ।
अस्पताल बिकास समितिका सदस्य गोर्वद्धन श्रेष्ठले कोभिडको बेला अम्दानी कम हुँदा आन्तरिक ब्यवस्थापन गरेर तलब भत्ता खुवाउनु परेको बताए । ‘बिरामी नहुँदा पनि हामीले ब्यवस्थापन मिलाईरहेका थियौँ’ उनले भने ‘बिरामीलाई विश्वास दिलाएर अस्पतालबाट राम्रो सेवा दिन सकियो भने आम्दानी स्वत बढाउन सकिन्छ ।’




