| आइतवार, कार्तिक २२, २०८३

गाउँको सडक कालोपत्रे गर्ने सपना साकार होओस्

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । गण्डकी प्रदेश सरकार र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री र गण्डकी गाउँपालिका बीच सडक कालोपत्रे गर्ने सम्झौता भएको हो ।

स्थानीय तहले १० देखि २० प्रतिशत, गण्डकी प्रदेश सरकारले १० र संघीय सरकारले बाँकी बजेट ब्यवस्थापन गर्ने व्यहोरा सम्झौतामा उल्लेख छ
शहिदलखन गाउँपालिकाले ३५ किलोमिटर लामो रामशाहघाट, ढाँडबारी, मनकामना, जुम्लीचैतारा, तीनमाने, घैरुङ, नाम्जुङ सडक कालोपत्रे गर्ने जनाएको छ ।
गण्डकी गाउँपालिकाले फिस्लिङ, भुम्लिचोक, भैरवी सडक कालोपत्रे गर्न सम्झौता गरेको छ । करिब ११ किलोमिटर लामो उक्त सडकले पृथ्वीराजमार्गबाट गाउँपालिकाको केन्द्र जोड्नेछ ।
बारपाक सुलिकोट गाउँपालिकाले गोरखा सदरमुकामबाट नारेश्वर, निबेल, उल्टे, मसार, ताकुकोट सडक कालोपत्रे गर्ने सम्झौता गरेको जनाएको छ ।

सो नामको सडकले बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ६ देखि गाउँपालिका केन्द्रसम्म जोड्नेछ ।
चुमनुब्री गाउँपालिकाले पनि जगतदेखि गाउँपालिकाको केन्द्र सिर्दिबासको फिलिमसम्मको सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग कार्यक्रम सम्झौता गरेको छ । ट्रयाक नै नखनेको सो सडक कालोपत्रे गर्न प्रदेश सरकारले हौसला प्रदान गरेको छ ।
सपना ठूलो छ । कार्यान्वयन चरणमा जान कति सहज छ, समयले देखाउने छ ।
प्रदेश सरकारले नाम्रुङदेखि तिब्बत सीमानासम्मको ३५ किलोमिटर सडक खन्ने भनेर पनि तीनबर्षअघि नै योजना सम्झौता त गरेको हो ।

तर कार्यान्वयन चरणमा छैन ।
यसरी नै सपना मात्र देखाउने हो भने बरु कुरा उठान नै नगरेको राम्रो, नत्र आश्वासन देखाएपछि कार्यान्वयन गरेर देखाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्