
‘दिनभरि कमाउँछौँ, साँझ परेपछि रमाउँछौँ, अनि कसरी उँभो लाग्ने ?’
सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् ।
सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट बर्षेनी अर्बौँ रकम स्वाहा हुन्छ, तर चेपाङ समुदाय ज्यूँका त्यूँ छन् ।
गण्डकी गाउँपालिका ७ छतिवनगैराका ८१ बर्षका सन्तबहादुर चेपाङ भने चेपाङको भाग्यमै गरिब हुन लेखेको तर्क गर्छन् । ‘चेपाङको छोरोलाई भगवानको घरदेखि नै गरिब बनाएर पठाएको हो’, धनी हुनेकुरा मान्छेको हातमा नहुने अन्धविश्वासी तर्क गर्दै उनी भन्छन्, ‘उसजुनीमा महादेवले धोक्रोभरि खरानी भरेर पठाएको हो रे चेपाङलाई । त्यही भएर हामी कसैगरे पनि धनी हुन नसकेको हो ।’
चेपाङ समुदायमा धान उब्जिने खेत नभएको, पखेरोेबारीमा राम्रो उत्पादन नहुने हुँदा गरिब भएको उनको बुझाइ छ । ‘चेपाङको खेत छैन । ऐलानी भए पनि पखेरो चाहिँ धेरै नै छ तर उब्जनी छैन’, उनी भन्छन्, ‘आफ्नै बारीको अन्नले तीन महिनाभन्दा धेरै कुनै चेपाङले पनि खान पाउँदैनन् । सँधै बेसाहाकै भर पर्नुपर्छ ।’ बेसाउन नसक्नेले अहिले गिठाभ्याकुर खाने गरेको उनले बताए ।
मादक पदार्थमा धेरै रमाउने, कमाइ सञ्चित नगर्ने भएकाले पनि चेपाङको जीवनस्तर नउकासिएको क्षेत्रीखोलाका लालबहादुर चेपाङ तर्क गर्छन् । ‘दिनभरि कमाउँछौँ, साँझ परेपछि रमाउँछौँ । कसरी उँभो लाग्ने ?’, चेपाङ भन्छन्, ‘अल्छी त होइन हामी । हामीले जति दुख कल्ले गर्छ र ? तर त्यही हो, दिनभरि कमायो, रातभरि रमायो, सक्कियो ।’ समुदायमा रक्सी खाएर पैसा दोहन गर्ने विगतदेखिको प्रवृत्तिमा सुधार नभएको उनको भनाइ छ ।
चेपाङ समुदायमा बालबिबाह गर्ने, धेरै सन्तान जन्माउने र लेखपढ नगर्ने समस्या मुख्य समस्या रहेको स्थानीयको निश्कर्ष छ । ‘१५ बर्ष पुगेपछि बिहे गर्ने तरखर गर्छन् । अनि बच्चा जन्माउन थाल्छन् । स्कूल पढ्ने बेलामा यस्तो भएपछि कसरी उँभो लाग्ने ?’, अर्की स्थानीय सावित्री चेपाङ भन्छिन्, ‘सबै जना सँधै यस्तै भएपछि यहाँको अवस्था सुध्रिदैन ।’ कलिलै उमेरमा पढाइ छाडेर घर ब्यबहारको काम गरेकाले चेपाङ समुदायको अवस्था सँधै अधोगति भएको उनको भनाइ छ ।
‘पढ्न छोडेर खोरियापात गर्ने, दाउरा टिप्ने, काठ ताछ्ने, जोत्ने, खन्ने, लेबर, मिस्त्री काम गर्ने, पर्खाल लगाउनेमै रमाउन थाले’, उनी भन्छिन्, ‘स्कूल नपढ्ने, अलिअलि पढ्यो भने बीचैमा छोडिदिने गर्छन् । त्यसैले गरिब भएको हो ।’
अशिक्षा, बालविवाह, बहुबिबाह, धेरै सन्तान जन्माउने परम्पराले चेपाङ समुदायको जीवनस्तर सँधै अधोगतिमा रहेको चेपाङ संघ, गोरखाका अध्यक्ष भीमलाल चेपाङ बताउँछन् । ‘पढ्न पनि नसक्ने, घर छोड्न पनि नसक्ने । अलिअलि घर छोडेभने मुग्लिन, मनकामनातिरका होटलमा काम गर्ने, हाइवेतिर झरे भने कुल्ली काम गर्ने, भारी बोक्ने, होटलमा काम गर्ने । चेपाङको जिन्दगी यसरी नै बितिरहेको छ’, उनले भने ।
गोरखाका साविकका पाँच वटा गाविस, घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, ताक्लुङ र मकैसिङमा चेपाङ समुदायको बसोबास छ । गोरखाका करिब आठसय घरधुरीमा तीनहजार पाँचसय ४२ जना चेपाङको बसोबास रहेको उनले बताए ।
चेपाङ समुदायको जीवनस्तर उकास्न नेपाल सरकारको जनता आवास कार्यक्रम रहेको छ । त्यस्तै इको नेपाल, फेस नेपाल, चेस नेपाल, पद्धति विकास सेवाकेन्द्र, एकीकरण नेपाललगायतका गैरसरकारी सँस्थाले विगतमा काम गरे पनि अहिले कुनै संस्था क्रियाशील नरहेको उनले बताए ।




