| सोमवार, कार्तिक २३, २०८३

सामागाउँ, साम्दो र ल्होमा खाद्यान्न वितरण


एकबर्षदेखि फैलिएको कोभिड १९ का कारण जनजीवनलाई कष्टकर बनाएको भन्दै सामागाउँका एक युवाले खाद्यान्न राहत सामग्री वितरण गरेका छन् । अमेरिकी साथी सम्बन्धसँगको सम्पर्कबाट अर्थ संकलन गरी राहत सामग्री वितरण गरेको सामागाउँका दावा नोर्बु लामाले जानकारी दिए ।


‘सामागाउँका एकसय ८० घरधुरी र साम्दो गाउँका ४० घरधुरीलाई प्रतिघरधुरी तीन बोरा चामल, तीनबोरा मैदा, २२ किलोग्राम दाल, तीन कार्टुन खानेतेल र चाउचाउ बाड्यौँ’, लामाले भने, ‘ल्हो गाउँका बासिन्दालाई पनि प्रतिघर २५ किलो चामल र पाँच लिटरका दरले खानेतेल बाँडेको छु ।’


साम्दोका निमा ग्याल्जेनले अमेरिकाको हिमालयन फाउण्डेशनसँग सहकार्य गरेर राहत सामग्री जुटाएको उनले बताए । ‘कोरोना महामारीमा लकडाउन गर्दा दुर्गम भेगको जनजीवन समस्याग्रस्त भयो’, उनले भने, ‘तिब्बतको सीमाना पनि एकबर्षदेखि खुलेको छैन । त्यसैले खाद्यान्न संकट नहोस् भनेर संकलन गरेर बाँडेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्