
आउँदो असार अगाबै बुङ्कोट सडक पिच हुन्छ : मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आउँदो असार अगाबै ढुङ्गागाढे बुङकोट सडक खण्ड पिच हुने बताएका छन् । बिहिवार शहिदलखन गाउँपालिका ८ बुङकोटमा नव इन्द्रेणी युवा क्लवले आयोजना गरेको वृहत शिवरात्री मेला तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो सडकका निर्माण ब्यवशायी, कार्यालयका प्रमुख यहीँ हुनुहुन्छ, असार अगाबै बुङकोटबाट चिल्लो पिच सडकमा तपाईहरु गोरखा सदरमुकाम जान पाउनुहुन्छ’ सर्वसाधारणलाई आश्वासन दिँदै उनले भने । बुङकोट ऐतिहासिक ठाउँ रहेको बताउँदै उनले कोटकाली, सन्तानेश्व महादेवको महत्वलाई प्रचार प्रसार गर्नुपर्ने बताए । ‘ऐतिहासिक मठ मन्दिरको प्रचार गर्न सकियो भने मात्र पर्यटक आउँछन्’ मन्त्री बस्नेतले भने ‘पर्यटकलाई राख्ने मिठो खुवाउने गरियो भने आर्थिक रुपमा फाईदा लिन सकिन्छ ।’
फरक राजनीतिक प्रसंङ्गमा मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकार कुनै हालतमा नढल्ने बताएका छन् । उनले भने ‘गण्डकी प्रदेश सरकारलाई कसैले केही गर्न सक्दैन, समयअवधी भर सरकार बहुमतका साथ चल्छ ।’
सबै राजनीतिक दलसँग हातेमालो गरेर गण्डकी प्रदेशले बिकास निर्माणमा पहिलो प्रदेश बनाउने उनले बताए । ‘राष्टिूय राजनीतिक यता उता भइरहँदा भोलि नै मन्त्री पद जाला र भनेको कुरा के पूरा होला जस्तो लागेको हुन सक्छ’ उनले सर्वसाधारणलाई प्रश्न गर्दै भने ‘प्रदेश मात्र होईन संघिय सरकार पनि ढल्दैन, हामी जनमुखि काम गरेर अघि बढ्छौँ ।’
देश बिकासको युगमा प्रवेश गरेको बताउँदै उनले यो वर्ष भित्र गण्डकी प्रदेशका सबै घर उज्यालो हुने बताए । दुई वर्षभित्र प्रदेश सरकारले घरघरमा धारा पुर्याउनले लक्ष्य लिएर अघि बढेको बताउँदै उनले सडक, भबन जस्ता पूर्वाधारका काममा प्राथमिकता दिएको उल्लेख गरे ।
क्लवका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष जानुका अधिकारी, शहिदलखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्षहरु काशिनाथ अम्गाई, शरण श्रेष्ठ, क्लवका संरक्षक पूणर्कुमार श्रेष्ठ, सन्तानेश्वर महादेव मन्दिर निर्माणका आर्थिक संयोजक अमृतबाबु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । सोही अवसरमा बिभिन्न जातीय भेषभुषा झल्कने झाँकी प्रस्तुत गरिएको थियो । कलाकारहरुले प्रत्यक्ष दोहोरीगीत गाएर मेलाको रौनक बढाएका थिए ।




