
तीन करोड लगानीमा आँबुखैरेनीमा सुविधा सम्पन्न पार्टी प्यालेस
तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गरेका हुन् ।
‘स्तरीय पार्टी प्यालेस आश्यक थियो, यसले यस क्षेत्र भएर यात्रा गर्ने पर्यटकलाई पनि सेवा दिन सक्छ’ उद्घाटनका क्रममा उनले भने । आँबुखैरेनी क्षेत्रको बिकासका लागि पनि नयाँ नयाँ लगानीको आवश्यक रहेको उनले बताए ।

आँबुखैरेनी गाउापालिका वडा नम्बर ३ कृष्ण मन्दिर नजिकै स्थानीय इमबहादुर (केदार) केसीले पार्टी प्यालेस संचालनमा ल्याएका हुन् । मुख्य सडकबाट करिब एक सय मिटर भित्र रहेको उक्त पार्टी प्यालेसबाट एकै पटक चार सय जनालाई सेवा दिन सकिने संचालक केसीले बताए । ‘स्विमङ पुल पनि छ, दुईवटा हल छ, पार्कीङको राम्रो ब्यवस्था छ’ उनले भने ‘हामीले ग्राहकलाई सन्तुष्ट पार्ने गरी सेवा दिने योजनामा संचालन गरेका छौँ ।’

उक्त पार्टी प्यालेस निर्माण गर्न दुई वर्ष समय लाग्यो । कोरोना भाईरसको प्रभावका कारण निर्माण समय करिब १० महिना धेरै लागेको अर्का संचालक बद्री कुमार केसीले बताए । ‘बिहे, ब्रतबन्ध, स्विमिङ गर्नेहरु, मनकामना, छिम्केश्वरीमा आउने पर्यटकलाई लक्षित गरेर यो संचालन गरेका हौँ’ उनले भने ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्र्रहरी निरीक्षक बिकास थापा, स्थानीय वुद्धिजिवी, समाजसेवी, ब्यापारी ब्यवशायीको उपस्थिती रहेको थियो । गोरखा र आँबुखैरेनी आसपासका स्थानीय स्विमिङका लागि टाढा जानुपर्ने बाध्यता समेत हटेको छ । यस पटकको गर्मी समयमा आँबुखैरनी मै स्विमिङ गर्न सकिने संचालक केसीले बताए । अहिले प्रतिब्यक्ति चार सय रुपैयाँ स्विमिङ टिकट दस्तुर राखिएको छ । उक्त पार्टी प्यालेस स्विमिङ पुल सहित भएको आँबुखैरेनीकै पहिलो हो ।




