
गोरखा २ मा क्रियाशील काङ्ग्रेस सातहजार
नेपाली काङ्ग्रेस, गोरखा क्षेत्र नं. २ मा क्रियाशील सदस्यता लिने काङ्ग्रेस सदस्यको संख्या छ हजार नौसय ४९ जना रहेको छ ।
बुधबार नेपाली काङ्ग्रेसको सदरमुकामस्थित कार्यालयमा सम्पन्न क्षेत्रीयस्तरको बैठकले पुरानो सदस्यता नवीकरण गर्नेको संख्या तीनहजार चारसय ३७ र नयाँ सदस्यता लिनेको संख्या तीनहजार पाँचसय १२ जना निश्चित गरेको हो ।
आसन्न जिल्ला अधिवेशनअघि अब क्रियाशील सदस्यता वितरण तथा नवीकरण नहुने भएकाले सो नामावली नै अन्तिम रहेको पार्टी प्रवक्ता राम भण्डारीले जानकारी दिए ।
क्षेत्रीय सभापति गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न सक्रिया सदस्यता सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे, विशेष अतिथि जिल्ला सभापति हरिबहादुर घले, प्रदेश सांसदहरु प्रकाशचन्द्र दवाडी र मनकुमारी गुरुङ, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अव्दुल सतार, क्षेत्रीय सचिव मानप्रसाद धिताल, क्षेत्र नं. २ का ३८ वटै वडाका वडा कार्यसमितिका सभापति लगायतले राजनीतिक मन्तव्य ब्यक्त गरेको पार्टी प्रबक्ता राम भण्डारीले जानकारी दिए ।
क्षेत्रीय समितिले तयार गरेको सो सूची जिल्ला कार्यसमितिको सिफारिससहित केन्द्रीय कार्यालयमा पठाएर अनुमोदन गरेपछि मात्र उनीहरु जिल्ला अधिवेशनमा सहभागी हुने पाउने व्यवस्था रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।




