| आइतवार, कार्तिक २२, २०८३

तुरुरु पानी चुहाउँदै बालुवा बोक्नेलाई कारबाही हुन्न ?

एकजना प्राविधिक कर्मचारीले भनेका थिए, कालोपत्रे सडकको परमशत्रु तीनवटा छन् :१. पानी, २. पानी र ३. पानी ।
जहाँ पानी बग्छ, वा पानी तालिन्छ, त्यहाँको कालोपत्रे टिक्दैन त्यसैले आईईई गर्दा नै नदीजन्य सामग्री(ढुंगा, गिटी, बालुवा) पानी चुहाउँदै ढुवानी गर्न पाइनेछैन भनेर स्पष्ट खुलाइएको हुन्छ ।

पालिकाहरुले तयार गरेको अनुगमनसम्बन्धी कार्यविधिमा पनि पानी चुहाउँदै ढुवानी गर्न नपाउने उल्लेख हुन्छ तर अहिले सडकमा तुरुरुरु… पानी चुहाउँदै बालुवा ओसारेको दृष्य प्रसस्त देख्न सकिन्छ ।
यस्ता घटना केही बर्षअघिसम्म राजधानी प्रवेश गर्ने सडकमा पनि देखिन्थ्यो, तर अहिले त्यसलाई नियन्त्रण गरिसकेको छ । गोरखामा पनि केहीबर्षअघिसम्म यसरी पानी चुहाउँदै बालुवा ढुवानी गर्न सख्त मनाही थियो ।

तर अहिले गोरखाको सडकमा भने जताततै निर्वाध रुपमा पानी चुहाउँदै बालुवा ओसारपसार भइरहेको देखिन्छ ।
यसलाई नियन्त्रण गर्ने निकाय सम्वन्धित पालिका हो । प्रहरी हो । यी दुवै निकायले यो दृष्य नदेखेको हो वा नियन्त्रण गर्नतर्फ ध्यान नदिएको हो ?
प्रहरीले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गर्ने, ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएर काबाही गरेको घटना बेलाबेला समाचार बन्छ ।

कार्यविधिमा उल्लेख भएबेगर पानी चुहाउँदै ओसारपसार गर्ने सवारी साधनलाई किन कारबाही गर्दैन ? नियम थाह नभएको हो र ? कि त्यसरी ढुवानी गरेको नदेखेको हो ? कि आँखा चिम्लेको हो ?
सडकका उपभोक्ता स्थानीयबासीले पनि ध्यानाकर्षण गर्नुपर्ने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्