
चेपाङ गाउँमा बालबच्चाको बेस्याहार
‘बालबालिका भविष्यका नारा जनजनमा कण्ठस्थ छ । भविष्य निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्छ भनेर उच्च खानदान सचेत छन् । हरेक देशका सरकारले पनि बाल विकासका लागि धक फुकाएर खर्च गरिरहेको छ । मनग्ये खर्च गर्न नसक्ने देशका लागि सम्पन्न मुलुकले सो शीर्षकका लागि सहयोग दिइरहेको छ ।
बाल विकासका लागि सरकारी, गैरसरकारी संस्थाका कार्यालयहरु मा बर्षेनी अर्बौँको बिल फस्र्यौट हुन्छन् । तर गोरखाका सीमान्तकृत चेपाङ समुदायमा त्यसको छिटासम्म पुगेको छैन । त्यहाँका बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, वौद्धिक विकासको अबस्था नाजुक छ ।
दृष्य १
गण्डकी गाउँपालिका १ पाङ्खोलाकी आठ बर्षीया सञ्जु चेपाङले न्यानो लुगा बिना यो हिउँद कटाउँदैछिन् । घाम र अँगेनुबाहेक उनलाई न्यानो दिन न आङमा बाक्लो लुगा छ, न सुत्दा न्यानो ओढ्ने ।
डेढ बर्षको छँदा आमाको मृत्यू भयो । नेष्डो लघुवित्त वित्तीय संस्थाबाट लिएको ३० हजार रुपैयाँको मासिक किस्ता चारहजार रुपैयाँबाट मुक्ति पाउनका लागि उनले मेटासिडको सहारा लिएकी थिइन् ।
साख्खै आमाले संसार छाडेपछि बुबा सुकबहादुरले सञ्जुलाई तेस्रो सौतेनी आमा भित्र्याइदिए । हात, खुट्टा अपाङ्ग भएकी सौतेनी आमा र ६० बर्ष पुगेका चन्द्रबहादुरको आश्रयमा सञ्जु जेनतेन आठ बर्षकी भइन् ।
‘पढाइमा टाठी छ तर के गर्नु, घरमा पढ, लेख भन्ने मान्छे छैनन् । खालि काममै जोताउन खोज्छन्’, सञ्जुकी भाउजु नाता पर्ने सीता चेपाङ भन्छिन्, ‘खोरियामा काम गर्दैमा स्कूल जाने बेला बित्छ । रक्सी खाएर घरमा बा, आमाको सँधै झगडा भइरहन्छ । सञ्जुको बेहाल छ ।’ घरमा बस्ने वातावरण नभएपछि सञ्जु आश्रय लिन प्राय आफ्नो घरमा आइरहने सीताले बताइन् ।
जनता आवास कार्यक्रम अन्तर्गत सरकारले ओत लाग्ने घर त दिएको छ, तर घरभित्र न अन्नको भकारी छ, न लुगाको चाङ ।
खल्डाखुल्डी परेको मझेरीमा ओछ्याउन न गुन्द्री छ, त ओढ्ने सिरक । झुत्रा भइसकेका लगाउने थाङ्नामुङ्ना ओछ्याएर त्यस्तै लुगा ओढेर सुत्ने गरेको उनी बताउँछिन् । घरभित्र चिसो अँगेनो, कुच्चिएका डेक्ची, साँझ बिहान पकाउन पोलिथिनको झोलामा एकदुई किलोग्राम चामल र डोकामा पिँडालु छ । ‘आफ्नो खोरियाको त यत्ति हो’, झोकमा झुण्ड्याएको दुई झुत्ता मकै देखाउँदै सुकबहादुरले भने ।
दृष्य २
बाँसको कप्टेराले बारेको घर, भूकम्पका बेला पाएको जस्ताको छानो, यहीभित्र पाङ्खोलाकी पविता चेपाङले दसौँ हिउँद गुजार्दै छिन् । यो जाडोमा उनका चार जना बहिनीलाई न बाँसका कम्पटेराले चिसो छेक्यो, न थाङ्ना भइसकेका एकसरो लुगाले । सोही तारमण्डल टहरामा उनका आठ बर्षकी सिर्जना, चार बर्षकी प्रमिला, तीनबर्षकी निशा र एकबर्षकी काखकी कान्छी बहिनी पनि हुर्किँदैछन् । उनीहरु बस्ने टहरो र नजिकैको बाख्राको खोर उत्रै उत्रै छ । त्यही टहरामा साना बालबच्चालाई घरमा छाडेर बुबा, आमा भने मेला हिड्न बाध्य छन् ।
‘बुबा खै ?’
‘मेलामा ।’
‘आमा खै ?’
‘मेलामा ।’
‘बिहान के खायौँ ?’
‘भात ।’
‘के को भात ?’
‘मकैको ।’
‘मकैको मिठो कि कोदोको ?’
‘मकैको ।’
‘भात केसित खायौँ ?’
‘अचारसित ।’
‘केको अचार ?’
‘खुर्सानीको ।’
‘दिउसो खाजा के खान्छौँ ।’
‘खादैनौँ ।’
‘घरमा चिया छ ?’
‘छैन ।’
‘चियापत्ती छ ?’
‘छैन ।’
‘चिनी छ ?’
‘छैन ।’
भात पकाउने चामल खोइ त ?
लुगाले छोपेको पोलिथिनको झोलाभित्रको दुई किलोग्राम चामलतिर देखाउँदै ‘ऊः त्यहाँ लुगाले छोप्या’छ ।’ ‘दिउसो भोक लाग्दैन ?’ ‘लाग्छ ।’ ‘यताका बच्चाले खाजै खाँदैनन्’, सीताले भनिन्, ‘खाजा खाने बानी नभएपछि दिउसो भोक नलाग्ने रहेछ । हाम्रो पनि सानैदेखि खाजा खाने बानी छैन । भोक पनि नलाग्ने रहेछ । पोहोरसम्म त स्कूलमा खाजा दिन्थ्यो । यो बर्ष त्यही पनि दिएको छैन ।’
बिहान नौ बजे खाना खाएपछि एकैचोटि साँझ छ, सात बजेतिर खाना खाने चलन रहेको उनले बताइन् । ‘बिहान खाना खाएर बाउआमा दिनभर खोरियातिर जान्छन् । एकैचोटी साँझमा मात्र आइपुग्छन्’, त्यसदिन गाउँमा भेटिएकी सीता चेपाङले भनिन्, ‘खाजा खुवाउन घरमा आउने चलनै छैन ।’ बाँसको कप्टेराको चारभित्ताले पानी थाम्दैन । ‘पानी पर्यो भने घरभित्र पानी पस्छ कि पस्दैन ?’ ‘पस्छ ।’ ‘त्यतिबेला कहाँ सुत्छौँ त ?’ ‘सुत्दैनम् ।’ ‘खाना कहाँ पकाउँछौँ ?’
‘पकाउँदैनम् ।’ ‘जाडोको बेलामा घरभित्र बतास पस्छ कि पस्दैन ?’ ‘पस्छ ।’
‘जाडो हुन्छ कि हुदैन ?’
‘हुन्छ ।’
‘त्यतिबेला के गर्छौ त ?’
(बारीमा सुकाएको तन्ना भन्दा केही बाक्लो कम्मलतिर देखाउँदै) ‘उ त्यो लुगा ओढ्छम् ।’
बेहाल अबस्थाका यिनीहरुलाई लगेर पढाइदिने संस्था पाए धन्य हुने सीता चेपाङको आशय छ ।




