| आइतवार, कार्तिक २२, २०८३

आरुघाट गाउँपालिकाले किसानलाई जर्सी गाई बाँड्यो

अन्य पालिका भन्दा कृषि र पशुपालन क्षेत्रमा फरक खालको कार्यक्रम संचालन गर्दै आएको आरुघाट गाउँपालिकाले शुक्रवार किसानलाई जर्सी गाई बितरण गरेको छ ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशतमा उन्नत जातको गाई बितरण गरिएको आरुघाट गाउँपालिका पशु शाखाका प्रमुख इन्द्रहरी खनालले बताए ।

किसानलाई गाउँपालिकाले अधिकतम ५० हजार रुपैयाँ अनुदान दिएको छ । शुक्रवार वडा नम्बर १० मा चारवटा, ४ मा दुईवटा गरी छ वटा जर्सी गाई बितरण भएको छ । चारवटा जर्सी गाई बितरण गर्न बाँकी रहेको र केही दिन भित्र आईसक्ने शाखा प्रमुख खनालले बताए ।
आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले किसानलाई जर्सी गाई बितरण गरेका हुन् । ‘दुध उत्पादन बढाउने, किसानको दुध नजिकको आरुघाट बजार क्षेत्रमा बिक्री गर्न सक्ने गरी डेरी स्थापना गर्ने योजनामा हामी अघि बढेको छौँ’ उनले भने ।

ब्यवशायीक दुग्ध उत्पादनमा लाग्न चाहने किसानबाट आवेदन लिएर जर्सी गाई बितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस अघि राँगा, पाडो पनि गाउँपालिकाले अनुदानमा बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्