| आइतवार, कार्तिक २२, २०८३

६५ वर्षमाथिकालाई आइतबारदेखि कोरोना खोप

कोरोना खोप लगाउने दोस्रो चरणको पहिलो अभियान आईतवारबाट गोरखामा सुरु हुँदैछ । उक्त अभियानमा ६५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाईने स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।


सरकारले यस अघि ५५ वर्ष उमेर माथिका जेष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालकलाई खोप लगाउने निणर्य गरेपनि खोपको सीमितता र प्राथमिकताका आधारमा जेष्ठ नागरिकलाई पहिले लगाउने निणर्य गरिएको कार्यालयले जनाएको छ ।


‘चुमनुब्री गाउँपालिका भित्रचाहिँ ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाइन्छ’ उनले भने ‘अन्य १० वटा पालिकामा भने ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप लगाईनेछ ।’ फागुन २३ देखि २५ सम्म गोरखा, पालुङटार नगरपालिका, शहीदलखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकामा खोप लगाईनेछ । फागुन २७ देखि २९ सम्म भीमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे, चमुनुबी गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।


दोस्रो चरणको पहिलो अभियानमा १५ हजार नौ सय ८१ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । ‘एक सय सात खोप केन्द्रमा सात सय ४७ जना स्वयंसेवक खोप लगाउनमा खटिनेछन्’ उनले भने । चुमनुब्री गाउँपालिकामा ५५ वर्ष उमेर माथिका एक हजार ४५ जनाले खोप लगाउने अनुमान कार्यालयको छ । दुर्गम भेग भएकाले पटक पटक खोप ढुवानी गर्न, केन्द्र सम्म जान समस्या हुन सक्ने भन्दै चुमनुब्रीमा अहिले नै ५५ वर्ष उमेर माथिकालाई खोप लगाउने निणर्य गरिएको हो । ‘खोपको उपलब्धताको आधारमा पनि यो निणर्य भएको हो’ कार्यालयका निमित्त प्रमुख ठकुरीले भने ।


त्यस पछिको अभियानमा अन्य पालिकामा पनि ५५ वर्ष उमेर कटेका, सार्वजनिक सवारीका चालक, शिक्षकहरुलाई खोप लगाईनेछ । नजिकको वडा कार्यालयमा रहेको स्वास्थ्य संस्थामा उमेर खुल्ने प्रमाण पत्र लिएर खोप लगाउन जानुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक वडाको स्वास्थ्य संस्थामा खोप केन्द्र रहेको र ति बाहेक सिरानचोक गाउँपालिका भित्र दुईवटा, बारपाक सुलिकोटमा एक, धार्चेमा चार र चुमनुब्रीमा छ वटा केन्द्र थप गरिएको छ ।
‘शनिवारसम्म सबै केन्द्रहरुमा खोप पुग्छ’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले भने । आईतबार बिहानबाट खोप लगाउन सुरु हुने उनले बताए ।


स्वास्थ्य कार्यालयले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकाहरुसँग कोरोना खोप लगाउने तालिका सहित अवस्थाको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नबराज खड्काले कोभिड १९ र यसको असर, ध्यान दिनुपर्ने पक्ष लगायतका बारेमा जानकारी गराएका थिए । खोप लगाएका महिलाले छ महिना सम्म गर्भधारणको योजना नबनाउँदा राम्रो हुने स्वास्थ्यकर्मीले बताएका छन् ।


यसअघि पहिलो चरणमा गोरखामा चार हजार २४ जनाले कोरोना खोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्