
गोरखाको चारवटा गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना हुने
गोरखाको चारवटा स्थानीय तहमा चैत मसान्तभित्रै नागरिक आरोग्य केन्द्र स्थापना हुने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर प्रशान्त पण्डितले भीमसेन थापा गाउँपालिका, आरुघाट, धार्चे र अजिरकोट गाउँपालिकामा नागरिक आरोग्य केन्द्र (आयुर्वेद औषधालय) स्थापन गर्ने निणर्य भएको बताए ।
‘भीमसेन थापा गाउँपालिकामा दुई साता भित्र र अन्य पालिकामा पनि चैत मसान्त सम्म आरोग्य केन्द्र संचालन गर्छौँ’ डाक्टर पण्डितले भने । यस अघि आयुर्वेद स्वास्थ्य केन्द्र नभएका पालिकामाहरुमा आरोग्य केन्द्र स्थापना हुन लागेको उनले बताए । ‘अन्य पालिकामा कुनै न कुनै रुपमा आयुर्वेद स्वास्थ्य संस्था छ’ उनले भने ‘चारवटामा रहेछन्, ती पालिकामा अहिले स्थापना हुन लागेको हो ।
एक जना प्राविधिक र एक जना सहयोगी गरी दुई जना आरोग्य केन्द्रमा रहन्छन् । अहिले गाउँपालिकाले उपलब्ध गराएको ठाउँबाट केन्द्र संचालन हुने आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका डाक्टर पण्डितले बताए । बिरामी जाँच, स्वास्थ्य परीक्षण, निशुल्क औषधी बितरण, सामान्य योगाको बारेमा ज्ञान, स्वास्थ्य प्रर्वद्धनका उपाएका बारेमा केन्द्रले सर्वसाधारणलाई सेवा दिनेछ । ‘बिस्तारै सेवा सँगै संरचना बढ्दै जान सक्छ’ डाक्टर पण्डितले भने ।
आरोग्य केन्द्रका कर्मचारीको तलब भत्ता आयुर्वेद स्वास्थ्य केन्द्रबाट निकासा हुनेछ भने कार्यक्रम गाउँपालिकाले संचालन गर्नुपर्नेछ । कोरोनाको संक्रमणपछि सर्वसाधारणमा आयुर्वेद उपचार प्रतिको विश्वशनियता बढ्दै गएको आयुर्वेद चिकित्सकहरु बताउँछन् ।




