
गोरखा दरबार पुनर्निर्माणले गति लियो : दोस्रो तलाको काम हुँदै
सुरु हुदै रोकिँदै गरेको गोरखा दरबारको पुनर्निर्माण कार्यले फेरि गति लिएको छ ।
भुकम्पमा भत्किएर पुनर्निर्माण हुँदै गरेको गोरखा दरबारको दोस्रो तला पुनर्निर्माणको काम केही समय स्थगित भएर फेरि सुचारु भएको हो ।
निर्माण ब्यवशायीका कारण समयमै बन्न नसकेको दरबारको दोस्रो तलामा थाम राख्ने काम अहिले भइरहेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
‘काठको काम भइरहेको छ, दोस्रो तलामा काम सकिएपछि धुरी छाउने काम हुनेछ’ दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने । काठको काम ढिलो भएको उनले बताए । अहिले काठको ६५ वटा थाम आएको र चारजना कालिगढले काम गरिरहेका छन् । ‘चैत महिनाभित्र निर्माण ब्यवशायीले दरबार पुनर्निर्माण सकेर जिम्मा लगाउँछु भन्नु भएको छ’ अड्डा प्रमुख भुषालले भने ।
पचली शिवाको जेभी कन्स्ट्रक्सनले २०७४ कात्तिकमा २४ महिनाभित्रै दरबार निर्माण गर्ने सम्झौता पुरातत्व बिभागसँग गरेको थियो । पहिलो पटक भएको सम्झौताभित्र निर्माण पुरा नभएपछि छ महिना म्याद थप भयो । मंसिर मसान्तभित्र दोस्रो पटक थपिएको म्याद सकिएपछि अहिले म्याद थप भएको छैन । चार करोड ३७ लाख रुपैयाँमा भईरहेको पुन निर्माणको कामप्रति सर्वसाधारण, सरोकारावाला, भक्तजन सबै असन्तुष्ट छन । निर्माण ब्यवशायीले भने काठ अभावका कारण छिटो काम गर्न नसकेको बताउँदै आएका छन् ।
नेपालको इतिहास बुझ्न, हेर्न दैनिक हजारौँ विद्यार्थी यो सिजनमा गोरखा आउन थालेका छन् । पुरानो कला कौशल, शाहबंशको इतिहास, गोरखाको धार्मिक साँस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्काली राजा राम शाहाको कार्यकालमा निर्माण भएको मानिन्छ । शैक्षिक भ्रमणमा आएकाहरुले दरबार हेर्न नपाउँदा खिन्न भएर फर्कन्छन् ।
गोरखा दरबार बनेको छैन अरे भन्ने हल्लाले भक्तजन, पर्यटक आउने क्रम घटेको स्थानीय मिलन राना मगर बताउँछन् । जसका कारण स्थानीयको होटल ब्यवशाय, पूmलप्रसाद ब्यापार, गोरखाको प्रचार प्रसार समेत राम्रो हुन सकेको छैन ।
‘सिङ्गो जिल्लाको पहिचान गोरखा दरबार पुन निर्माण ढिलो हुँदा सरोकारवाला सबैले चासो दिनुपथ्र्यो’, उनले भने ‘त्यो पनि हुन सकेको छैन ।’ ठेकेदारको चरम लापर्वाहीले दरबार अलपत्र रहेको उनले गुनासो गरे ।
अहिले पुन निर्माण हुँदै गरेको दरबारमा पुरानै कलात्मक शैली अपनाइएको छ । पुन प्रयोग गर्न मिल्ने झ्याल ढोका प्रयोग भएका छन् भने टुटेफुटेकाको सट्टामा नयाँ प्रयोग गरिएको छ । अहिले बनेको दरबार भुकम्प प्रतिरोधी रहेको पुरातत्व बिभागले जनाएको छ ।




