| आइतवार, कार्तिक २२, २०८३

सामी परियोजनाको बारेमा गोरखाका पत्रकारहरुसँग छलफल

एकीकरण नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पत्रकारहरुसँग सुरक्षित आप्रवासन परियोजना (सामी)का बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार गोरखा सदरमुकाममा एकीकरण नेपालले गोरखाका चार वटा पालिकासँगको समन्वय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सामी परियोजनाको बारेमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
सो परियोजना गोरखाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा सञ्चालित छन् ।


कार्यक्रममा वैदेशिक रोजगारमा जाँदा नेपालीहरुले विदेशमा र घरमा परिवारहरुले भोगिरहेका विभिन्न असहजताका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कार्यक्रम अधिकृत भागीराम थारुले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउनका लागि सामी परियोजनाले सहयोग गर्ने बताए ।


गोरखामा परियोजना लागु भएदेखि हालसम्म एकहजार ३० जनाले सम्पर्क गरेका छन् । परियोजना अन्तर्गत सिपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, सुचनामा पहुँच, न्यायमा पहुँच र वित्तीय साक्षरता जस्ता पक्षमा काम गरिरहेको सामीका परियोजना प्रमुख चन्द्रबहादुर देवकोटाले जानकारी दिए ।


वैदेशिक काममा गएर मृत्यु भई शव ल्याउन कठिन भएका, वैदेशिक रोजगारको लोभ देखाई ठगीमा परेकाहरुको समस्या समाधान गर्न सहयोग गर्दै आएको उनले बताए । सो परियोजनाबाट गोरखाका चारवटा शव नेपाल ल्याइएको, ठगीमा परेर गुमाएको रकम क्षतिपूर्ति पाएका २ जना र विरामी भई घर फर्कन चाहेका १ जनामा सहयोग गरेको उनले बताए ।


बुधबार आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, पत्रकारहरु, संस्थाका जिम्मेवार व्यक्तित्वहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्