
गोरखाका तीनवटा पालिकाको मात्र सामाजिक सुरक्षा भत्ता वैँकबाट
गोरखाका तीनवटा पालिकाले मात्र सामाजिक सुरक्षाभत्ता वैँकबाट वितरण गर्ने गरेका छन् । सरकारले सामाजिक सुरक्षाभत्ता वैँकिङ प्रणालीबाट वितरण गर्न अनिबार्य गरेपनि आठवटा पालिकाले अझै वैँकिङ प्रणाली अपनाउन नसकेका हुन् ।
पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र शहीदलखन गाउँपालिकाले मात्र वैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएका छन् ।
सदरमुकाम रहेको गोरखा नगरपालिका, गोरखाकै दोस्रो ठूलो बजार रहेको आरुघाट गाउँपालिका, पृथ्वीराजमार्गसँग जोडिएको गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजीरकोट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिको अहिलेसम्म वैँकिङ प्रणालीबाट भत्ता वितरण गरेका छैनन् ।
दोस्रो चौमासिक भत्ता वैँकबाट वितरण गर्ने अन्तिम तयारीमा रहेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । क वर्गका अपाङ र हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकको हकमा इच्छाएको व्यक्तिको दस्तखत चल्ने गरी खाता सञ्चालन गर्ने व्यवस्था भएको छ । अरुले आफै उपस्थित भएर वैँकबाट भत्ता बुझ्न सक्ने व्यवस्था गरिएको पन्तले जानकारी दिए ।
आरुघाट गाउँपालिकाले पनि दोस्रो चौमासिक भत्ता वैँकबाट वितरण गर्ने गरी तयारीमा रहेको जनाएको छ । ‘क वर्गका अपाङ्ग र हिँडडुल गर्न नसक्नेहरुलाई घरमै पुगेर भत्ता वितरण गर्ने र अरुलाई टोलटोलमा गएर वितरण गर्नेगरी वैँकहरुसंग सम्झौता भइसकेको छ’, पालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका कामदारको पारिश्रमिक पनि वैँकबाटै भुक्तानी दिने तयारी छ ।’
सामाजिक सुरक्षा भत्ता वितरणका लागि वैँकले अटेरी गरिरहेको गण्डकी गाउँपालिकाले जनाएको छ । सो पालिकामा कृषि विकास वैँक मात्र रहेको छ ।
राजमार्गमा रहेका वैँकहरु जिल्ला पनि फरक, प्रदेश पनि फरक रहेकाले भत्ता वितरणका लागि बाध्य बनाउन नसकिएको, पालिकाभित्र रहेको कृषि विकास वैँकले कर्मचारी अभाव भएको बहाना बनाएर भत्ता वितरणको काम गर्न अटेरी गरेको प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए । ‘वैँकले गाउँ टोलमा पुगेर खाता खोल्न पनि सक्दैनौँ, भत्ता वितरण गर्न जान पनि सक्दैनौँ भन्छ’, गुरुङले भने, ‘आठवटै वडाबाट वैँकमा गएर खाता खोल्न, भत्ता लिन सेवाग्राहीलाई भौगोलिक कठिनाइ छ । नियमित यातायात चल्दैन । आठ हजार रुपैयाँ भत्ता लिन १० हजार रुपैयाँ खर्च गरेर के अर्थ ?’ छलफलका लागि वैँकलाई चार पाँच पटकसम्म बोलाउँदा पनि अटेरी गरेको उनले बताए । पालिकाले साथ र सहयोग गर्छु भन्दाभन्दै पनि वैँकले अटेरी गरेको गुरुङको गुनासो छ ।
त्यस्तै चुमनुब्री गाउँपालिकाले पनि वैँकबाट भत्ता वितरण गर्न सकेको छैन ।
पालिकामा रहेको एउटा मात्र वैँक, कुमारी वैँकले इन्टरनेट सेवाको समस्या देखाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने दाबी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । भत्ता लिन वैँकसम्म आउन जान पनि सेवाग्राहीलाई सकस हुने भएकाले हातहातै वितरण गर्नु नै उपयुक्त रहने उनले बताए । ‘सबै पालिकालाई वैकिङ पहुँच छैन । वैँकसम्म पुग्न तीन, चार दिन हिड्नु पर्ने अबस्था छ’, श्रेष्ठले भने, ‘अब सरकारले वैँकिङ प्रणालीमै जानु पर्छ भनेपछि जानु त प¥यो, तर सजिलो छैन ।’
एउटा मात्र वैँक सिभिल वैँक रहेको धार्चे गाउँपालिकाले पनि वैँकिङ प्रणालीमा जान समस्या रहेको जनाएको छ । तेस्रो किस्ता भत्ता वैँकबाट दिने गरी आगामि चैतदेखि काम सुरु गर्ने तयारीमा रहेको पालिकाका प्रमुख सन्तोष गुरुङले बताए ।
बारपाक सुलीकोट गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता हातहातै वितरण गरिरहेको छ । भत्ता वितरणका लागि वैँकसँग सम्झौताको अन्तिम चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
वैँकिङ प्रणालीमा जानका लागि प्रक्रिया सुरु भइसकेको भीमसेन थापा गाउँपालिकाले जनाएको छ । ‘अहिलेसम्म तीनवटा वडामा खाता खोल्ने काम सकिएको छ ।
बाँकी पाँचवटा वडामा खाता खोलेपछि आउँदो तेस्रो चौमासिकबाट वैकिङ प्रणालीबाट भत्ता वितरण गर्न सक्छौँ’, पालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।
अजीरकोट गाउँपालिकामा पनि अहिलेसम्म हातहातै भत्ता वितरण भइरहेको छ । साउनबाट वैंकिङ प्रणालीमा जाने पालिकाका प्रमुख फणिन्द्र धिताल बताउँछन् । वैँकले जनशक्ति अभाव देखाएर भत्ता वितरणको काम गर्न असजिलो मानिरहेको उनले बताए ।
पालुङ्टार नगरपालिकाले दुईबर्षअघिदेखि नै वैँकिङ प्रणालीमा भत्ता वितरण गरेको जनाएको छ । ‘कृषि विकास वैँक, प्राइम वैँक, एनएमबी वैँक, प्रभु वैँक र पोखरा फाइनान्सबाट भत्ता वितरणको काम भइरहेको छ’, सुमन शर्माले भने, ‘क वर्गका अपाङ्ग र हिँडडुल गर्न नसक्ने वृद्धवृद्धाको हकमा इच्छाएको व्यक्तिको दस्तखत चल्ने गरी खाता सञ्चालन गर्ने व्यवस्था छ ।’
त्यस्तै सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले पनि यो आर्थिक बर्षको सुरुदेखि नै वैँकिङ प्रविधिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको जनाएका छन् । क वर्गका अपाङ्ग र हिडडुल गर्न नसक्नेलाई इच्छाएको व्यक्तिको हस्ताक्षर चल्ने गरी खाता खोलेर सहज बनाइएको र अन्यले वैँकबाटै भत्ता लिने गरेका पालिकाहरुले जनाएका छन् ।




