| आइतवार, कार्तिक २२, २०८३

आरुघाट गाउँपालिकाद्धारा किसानलाई पाडा र राँगो बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई राँगो बितरण गरेको छ । भैँसी पालन गरी दुध उत्पादनतर्फ किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातको राँगो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।
किसानको मागअनुसार ल्याइएको उन्नतजातको सातवटा राँगोमध्य छ वटा राँगो गत सोमबार वितरण गरिएको उनले बताए । एउटा भने दुर्घटनामा परी मरेको छ ।
त्यस्तै ५० वटा पाडा वितरण गरेको अध्यक्ष दाहालले बताए । ‘हामीले १० वटा वडामध्य हरेकमा पाँच÷पाँच वटाका दरले पाडा बितरण गरेका छौँ’, अध्यक्ष दाहालले भने ।

ब्यवशायिक रुपमा दुध उत्पादन गर्दै आएका र इच्छुक किसानबाट आवेदन माग गरी उनीहरुको समेत लागत सहभागीतामा पाडा र राँगो बितरण गरिएको थियो ।
‘पाडा लिन चाहने किसानलाई गाउँपालिकाले २० हजार बाँकी रकम किसान स्वयंले तिर्ने गरी वितरण गरिएको हो’, दाहालले भने, ‘युवालाई रोजगार बनाउने र विशेषगरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारेका हौँ ।’ सार्वजनिक सुचना आव्हान गरी निवेदनको आधारमा पाडो वितरण गरेको उनले बताए ।
राँगो लिन चाहनेलाई ५० हजार अनुदान दिएको अध्यक्ष दाहालले बताए । त्यो भन्दा बढि जति थप गर्नुपर्छ, किसानबाट थप गरी राँगो उपलब्ध गराइएको अध्यक्ष दाहालले बताए ।
आरुघाट बजारमा दुग्ध डेरी संचालन गर्ने योजना अनुसार दुध उत्पादन बढाउने, किसानलाई ब्यवशायिक बनाउने, युवाहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले पाडा र राँगो बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्