| आइतवार, कार्तिक २२, २०८३

रिचेत खोलाको विजुली आउँदो वैशाखदेखि बल्ने (फोटो फिचर)

काशिगाउँ र मान्बुको सीमानामा रहेको रिचेत खोलाबाट पाँच मेगावाटको जलविद्युत उत्पादनको काम अन्तिम चरणमा पुगेको छ । रिचेत जलविद्युत कम्पनीले प्रवद्र्धन गरेको पाँच मेगावाटको रिचेतखोला जलविद्युत आयोजनाबाट उत्पादित विजुली आउँदो बैशाखदेखि बाल्ने तयारी गरिएको प्रवद्र्धकमध्यका नारायण खनालले जानकारी दिए ।

‘सबै काम सम्पन्न भयो, एउटा भल्व राख्न मात्र बाँकी छ । त्यो पनि इण्डियाबाट आउनु पर्ने भएर पर्खिराखेका छौँ’, खनालले भने, ‘भल्व आएको १५ दिनभित्र जडान भइसक्छ । त्यसपछि परीक्षण प्रशारण सुरु हुन्छ ।’

२०७७ सालको बैशाखमा काम सम्पन्न गर्ने लक्ष्य रहेपनि कोभिड महामारीका कारण एकबर्ष ढिला भएको खनालले जानकारी दिए । ‘कोभिडका कारणले एक बर्ष ढिला भएको हो’, उनले भने, ‘विद्युतगृह, निर्माण भइसक्यो । ट्रान्समिसन लाइट विस्तार भइसक्यो । अब भल्ब जोडेपछि काम सम्पन्न हुन्छ ।’

कोभिडका कारण लागत पूर्व निर्धारित भन्दा बढेको उनले बताए । ‘९० करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न गर्ने भन्ने लक्ष्य थियो, तर कोभिडका कारण लागत बढेको छ’, प्रवद्र्धक खनालले भने, ‘अवधि बढ्यो, व्याज बढ्यो । अब कूल लागत एक अर्ब पुग्न सक्छ ।’ आयोजनाका लागि प्राइप कमर्सियल वैँकले करिब ६२ करोड ऋण सहयोग गरेको उनले बताए ।

रिचेतखोलाबाट १६ सय मिटर पाइपमा पानी ल्याई यार्सागाउँभन्दा मुनि विद्युत गृहमा विद्युत उत्पादन हुनेछ । त्यहाँ उत्पादित विद्युत त्यहाँबाट १२ किलोमिटर पर धादिङको बसेरीस्थित सबस्टेशनमा लाइन जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्