| आइतवार, कार्तिक २२, २०८३

शहीद लखन गाउँपालिकाद्वारा ३१ प्रतिशत बजेट खर्च

शहीद लखन गाउँपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म कूल बजेटको ३१ प्रतिशत खर्च प्रगति गरेको छ । कूल बजेटमध्य हालसम्म १९ करोड, ३० लाख छ हजार रुपैयाँ खर्च गरेको बारे बिहिबार सम्पन्न आठौं गाउँसभामा जानकारी गराइएको हो ।
साथै पालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म २३ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको पनि जनाएको छ ।

यो राजस्व लक्ष्यको २९ प्रतिशत रहेको पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको गाउँसभसाले बिभिन्न पाँच वटा समसामयिक तथा आवश्यक ऐनहरु पनि पारित गरेको छ ।
‘शहीद लखन गाउँपालिकाको जुवा नियन्त्रण तथा नियमन ऐन २०७७, मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन २०७७, जनस्रोत ऐन २०७७, वन ऐन २०७७, शिक्षा ऐन २०७५(पहिलो संशोधन २०७७), स्वास्थ्य सेवा ऐन २०७५(पहिलो संशोधन २०७७) पारित गरियो’, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले भने ।
गाउँसभामा गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीले पेश गरेको गाउँपालिकाको विनियोजन ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७७ स्वीकृत भएको छ । सो विधेयकमा उल्लेख भएका १५ शैयाको शहीद लखन गाउँपालिकास्तरको अस्पताल सञ्चालन गर्ने, कोभिड १९ अस्थायी अस्पताल निर्माण, सुरक्षित नागरिक आप्रवासन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण, गाउँपालिकास्तरीय खेलकुद मैदान निर्माणका लागि केन्द्र सरकारबाट प्राप्त अनुदान तथा बजेट र जिल्ला समन्वय समिति तथा प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार कार्यालय मार्फत प्राप्त कूल चार करोड ७३ लाख दुईहजार पाँचसय २० रुपैयाँ थप स्रोत तथा बजेट प्राप्त हुने गरी बजेट स्वीकृत गरेको छ ।
आठौँ गाउँसभाले शहीद लखन गाउँपालिकाले निर्माण गरेको कक्षा १, २ र ३ को स्थानीय पाठ्यक्रम स्वीकृत गरेको पनि प्रमुख प्रशासकीय अधिकृत आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्