
निर्वाचन आचार संहिता हात्तिको देखाउने दाँत जस्तो मात्रै
निर्वाचन सम्बन्धी आचार संहिता उल्लंघन गर्नेलाई दण्ड, जरिबाना नभएको भन्दै गोरखाका सरोकारवालाहरुले यसलाई थप व्यहारिक बनाउन आग्रह गरेका छन् । पाँचौँ निर्वाचन दिवसको अवसरमा बुधबार गोरखा सदरमुकाममा भएको ‘निर्वाचन आचार संहितामा सरोकारवालाहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आचार संहिता कितावमा मात्र सीमित रहेको बताएका थिए ।
त्यस्तै आचार संहिता कडाइका साथ पालना गर्ने भनेर हरेक पटक कुरा उठ्ने गरेको तर व्यवहारमा आचार संहिताको उल्लंघन हुने गरेको भन्दै सहभागीहरुले आचार संहितालाई हात्तिको देखाउने दाँत नबनाउन माग गरे ।
अन्तरक्रियामा राजनीतिक दल, जिल्लास्थित सामाजिक संघसंस्था, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
कार्यक्रममा २०७२ सालमा बनेका आचार संहिताहरुका कतिपय वुँदाहरु पुराना भइसकेका, अव्यवहारिक भएको ठहर भएमा समय सापेक्ष संशोधन गरिने भन्दै मस्यौदा पेश गरिएको थियो ।
कार्यक्रमका बक्ताहरुले धेरै सम्पत्ति हुनेले धेरै खर्च गरेर निर्वाचित हुने, सम्पत्ति नहुनेले खर्च अभावकै कारण हार्ने अबस्थाको अन्त्य हुनुपर्ने, हेलिकोप्टरबाट प्रचार प्रसारको गतिविधि पूणर् रुपमा दुरुत्साहन गर्नुपर्ने, चुनाव मितव्ययी हुनुपर्ने बारे छलफल भएको थियो ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता संशोधनको तयारी थालेकाले यसको बारेमा छलफल कार्यक्रमलाई अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । २०७२ सालमा निर्माण भएको आचार संहिताको बारेमा र आयोगबाट प्राप्त आचार संहिताको मस्यौदाबारे थप छलफल गरी सुझाव पेश गर्ने कार्यक्रम रहेको उनले बताए ।




