| सोमवार, कार्तिक २३, २०८३

कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्छ भन्नेहरु आज कांग्रेसको साथ खोजिरहेका छन् : कांग्रेस नेता पाण्डे

कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्छ भन्ने कम्युनिष्टहरुले अहिले कांग्रेसको साथ खोजिरेहको नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताएका छन् । नेपाली कांग्रेस गोरखाले सिरानचोक गाउँपालिकाको नयाँ साँघुमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै उनले भने ‘शेरबहादुर देउबा अन्तिम प्रधानमन्त्री हो भन्नेहरु अहिले कांग्रेसको साथ बिना देश संकटमा पर्ने भयो भन्दै हारगुहार गरिरहेका छन ।’
नेपाल कम्युनिष्ट पार्टीले गरेको भ्रष्टाचार, ब्यथिति, असंवैधानिक कदमको जिम्मा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल सबैले लिनुपर्ने उनले बताए । ‘सँगै हुँदा गरेका कर्तुत र पाप पखाल्न प्रचण्ड–माधव कांग्रेससँग मिल्न खोजिरेहका छन्’ उनले भने ‘कसैको पाप पखाल्न कांग्रेस सती जाँदैन । आफ्नै सिद्धान्तमा अघि बढ्छ ।’ लोकतन्त्रको रक्षका लागि कांग्रेसले निरन्तर आन्दोलन गर्ने बताउँदै उनले संसद बिघटन असंवैधानिक भएको बताए ।
बैशाख १७ र २७ मा चुनाव घोषणा गरेको ओलीले अदालतको फैसला धकेल्दै चुनाव नगराउने षड्यन्त्र गरेको हो भने कांग्रेसले सत्ताबाट हटाउने समेत केन्द्रीय सदस्य पाण्डेले चेतावनी दिए । गोरखा क्षेत्र नम्बर २ मा यस अघि नयाँ शक्ति सँग चुनावी तालमेल गर्दा आँखामा भोट हाल्नुपर्दा कार्यकर्ताको मन दुखेको बताउँदै उनले भने ‘कांग्रेसका कार्यकर्ताले अबको कुनैपनि चुनावमा रुख बाहेक अन्यत्र भोट हाल्नुपर्दैन’ उनले भने ।
जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज पाण्डे, जिल्ला सचिव पूर्णबहादुर दाहाल, नन्दप्रसाद न्यौपाने, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, कांग्रेसका महासमिति सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, महासमिति सदस्य एवं मेयर राजनराज पन्त, क्षेत्रीय सभापति गोबिन्द गुरुङ, केन्द्रीय बिभाग सदस्य नबिन श्रेष्ठ, पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, गोरखा नगर सभापति चन्दनबाबु खत्री, वडा नम्बर ६ का अध्यक्ष नारायण दानी, वडा पार्टी सभापति बलराम मल्ल लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्