
लखन थापाको १४४ औँ स्मृत दिबस मनाइयो
शहीद लखन थापा तथा उनका सहयोद्धा जयसिंह चुमी मगरको १४५ औँ स्मृतिदिबश बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित बुङकोटको काउलेभंगारमा आयोजित कार्यक्रमको अवसरमा गाउँपालिकाका अध्यक्ष रमेश थापाले लखन किल्लामा निर्माण गरिएको पोखरीको उद्घाटन गरेका थिए ।
‘गाउँपालिकाले तीनवर्षदेखि फागुन २ गते प्रथम शहीद लखन थापाको स्मृतिदिबसको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने गरेको छ’ उनले भने ‘सबै कार्यालयहरुमा नेपालका प्रथम शहीद लखन थापाको फोटो राख्न थालेका छौँ ।’ यस अघि पनि बिभिन्न संघसंस्था, समुह, क्लव, स्थानीय सरकारले पटक–पटक लखन थापालाई प्रथम शहीद घोषणा गर्न माग गर्दै आएकाले राज्यले घोषणा गरेको बताउँदै उनले भने ‘गाउँपालिकाले उहाँसँग जोडिएको इतिहास संरक्षण गर्न लगानी गरिरहेको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले चालुवर्ष शहिद लखन किल्लामा ४९ लाख रुपैयाँबाट घुमाउने घर, पोखरी निर्माण, पर्खाल लगाउने कार्यक्रम हुने बताए । ‘२५ रोपनी सार्वजनिक जग्गा किल्लाको नाममा आउने अन्तिम तयारी छ’, उनले भने, ‘गाउँपालिकाले हरेक वर्ष बजेट बिनियोजन गरेर लखन थापाको इतिहास संरक्षणलाई प्राथमिकतामा राखेको छ ।’
शहिदलखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तब्यमध्ये इतिहास पाठशाला सहितको पर्यटकीय हब बनाउने गरी लखन किल्लाको बिकास गर्ने गुरु योजना बनेको बताए ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाई लगायतले धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता लगायतको उपस्थिति थियो । सोमवार बिहान शहिदलखन गाउँपालिका प्रवेशद्धारा ढुङ्गागाढेमा निर्माण गरिएको गेटमा शहीद लखन थापाको शालिक र मनकामना मन्दिरको प्रतिमूर्ति राखिएको छ ।
लखन थापा स्मृति दिबसको अवसरमा पालिकाभित्रका उत्कृष्ठ किसानलाई सम्मान, विद्यालय स्तरीय चित्रकला, बक्तृत्वकला प्रतियोगिता पनि भएको छ ।





