
लखनथापा स्मृति दिवस भोलि भव्यताका साथ मनाइँदै, शहीदलखन गाउँपालिकामा सार्वजनिक विदा
प्रथम शहीद लखन थापाको १४५ औँ स्मृति दिवश आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शहीद लखन थापा जन्मेको तथा शहदत प्राप्त गरेको स्थल शहीदलखन गाउँपालिका ७ काउले भँगारमा स्मृति दिवस समारोह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।
सो दिवसको अवसरमा गोरखा सदरमुकामबाट गाउँपालिका प्रवेश गर्ने प्रवेशद्वारको उद्घाटन गर्ने कार्यक्रम रहेको आलेले जानकारी दिए । साथै सोही औपचारिक समारोहको अवसरमा शहीदस्मारक परिसरमा पुनर्निर्माण भएको पोखरीको उद्घाटन पनि गर्ने कार्यक्रम रहेको छ ।
सोही औपचारिक समारोहका बीच सो गाउँपालिकाका नौवटा वडाका बालीतर्फका र पशुपालनतर्फका एकेक जना गरी १८ जना किसानलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तिनै १८ जनामध्य बालीतर्फका र पशुपालनतर्फका सर्वोत्कृष्ठ एकेक जनालाई पनि पालिकास्तरको सर्वोत्कृष्ठ घोषणा गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको आलेले जानकारी दिए ।
साथै सोही अवसरमा प्रथम शहीद लखन थापाका सहयोद्धा तथा विभिन्न कालखण्डमा शहादत पाएका तथा बेपत्ता पारिएकाहरु गरी १२ जनाको परिबारलाई सम्मान गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
शहीद लखन थापाको स्मृति दिवस मनाउनका लागि गाउँपालिकाले आइतबार गाउँपालिकाभर सार्वजनिक बिदा गरेको छ ।




