
गोरखामा साइबर क्राइम तथा साइबर सचेतना सम्बन्धी कार्यक्रमको तयारी
इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले विभिन्न पालिकाहरुसंग समन्वय गरी साइबर क्राइमबारे सचेतना तथा यसलाई न्युनिकरण गर्ने बारे कार्यक्रम गर्ने तयारी गरेको हो ।
‘विशेष गरी सर्वसाधारणको आस्थाका रुपमा रहेका जनप्रतिनिधि, सरकारी कर्मचारी, सेना, प्रहरीहरुलाई केन्द्रित गरी साइबर क्राइम बारे सचेतना कार्यक्रम गर्ने तयारी भएको छ’, क्यान गोरखाका सचिव बाबुराम तिवारीले भने, ‘बिहिबार सम्पन्न क्यान गोरखाको सातौँ साधारण सभाले यस्तो कार्यक्रम गर्न म्यान्डेट दिएको छ ।’ अघिल्लो बर्ष नै यस्तो कार्यक्रम गर्ने तयारी भए पनि कोभिड महामारीका कारण गर्न नसकिएकोमा यसबर्ष गर्ने निर्णय भएको उनले बताए ।
कार्यक्रममा साइबर सेक्यूरिटी भनेको के हो ? सामाजिक सञ्जालमा कस्ता कस्ता कुरा पोष्ट तथा सेयर गर्न मिल्ने, नमिल्ने ? साइबर अपराध भयो भने कस्ता कस्ता दण्ड, जरिबाना हुन्छन् लगायतका विषयमा सचेतना फैलाउने लक्ष्य रहेको उनले बताए ।

क्यान महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष नोखबहादुर(अमृत) बोगटीको अध्यक्षतामा बिहिबार सम्पन्न सातौँ वार्षिक साधारण सभाले आर्थिक बर्ष ०७७/०७८ मा आईटी सेमिनार गर्ने पनि निर्णय गरेको छ । साथै आइसिटी डे (मे दुई)को अवसरमा नेपाली टाइपिङ प्रतियोगितालगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको सचिव तिवारीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सचिव जगनबहादुर गुरुङ, विशेष अतिथि गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, अतिथिहरु गण्डकी प्रदेश समितिका सचिव केशव भट्टराई, गोरखा शाखाका संस्थापक अध्यक्ष अशोकबाबु राना, संस्थापक सदस्य एवं सल्लाहकार सुशीलबाबु श्रेष्ठ र उपाध्यक्ष सुदीप कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्यान गोरखाका सचिव बाबुराम तिवारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भक्तराम रानाले प्रस्तुत गरेको बार्षिक आय, व्याय प्रतिवेदन अनुमोदन गरेको थियो ।




