
पालुङ्टारको सामुयिक आवास धमाधम बन्दै
पालुङटार नगरपालिका ७ च्याङ्लीमा निर्माण सुरु भएलगत्तै रोकिएको सामुयिक आबास भबन अहिले धमाधम बन्न थालेको छ । २०७४ मा पुनर्निर्माण प्राधि करणले जिल्ला आयोजना कार्यान्वयन ईकाई मार्फत भबन निर्माण सुरु गराएको थियो । १५ करोड ५० लाखमा निर्माणको जिम्मा लिएको श्याम सुन्दर निर्माण सेवा प्रालीले २०७६ माघमा उक्त भबन पूरा गरी हस्तान्तरण गर्नुपथ्र्यो । तर भबन अहिलेसम्म बनेको छैन ।
भबनमा जगको काम सकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल निर्माण रोक्न दिर्नेशन गर्यो । जिम्मा लिएको कम्पनीले काम रोक्यो । अन्ततः अहिले पुन काम सुरु गर्न र भबन निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधि करणले पत्राचार गरेपछि निर्माण गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाई भबनकी प्रमुख सुनिता श्रेष्ठले बताईन् । ‘अहिले करिब ६० प्रतिशत काम सकिएको छ । धमाधम काम भईरहेको छ’ उनले भनिन् । उक्त भबन निर्माणको काम २२ महिना रोकिएपछि पुन सुचारु भएको हो ।
तत्कालिन समयमा उक्त भबन भूमिहिन सुकुम्बासी भुकम्प पीडित ३० घर परिवारलाई राख्ने योजना सहित निर्माण सुरु भएको थियो । सबै लाभग्राहीले निजी आबास पुन निर्माणको तीन लाख, भूमिहिनले थप दुई सहित पाँच लाख लिएपछि उक्त घर प्रयोग बिहिन हुने डरले पुन निर्माण प्राधिकरणले निर्माण रोकेको थियो । ‘हामीले निर्माण सुरु भएको भबन नरोक्न र तत्काल काम अघि बढाउन बारम्बार पत्राचार गर्यौँ’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कँडेलले भने ‘पहिले रोकिएको थियो अहिले फेरि सुरु भएको छ ।’ राज्यले करोडौँ लगानी गरेर सुरु गरेको काम रोक्दा थप घाटा हुने भएकाले निर्माण सुरु भएपछि नगरपालिकाले कुनै न कुनै रुपमा उक्त भबन प्रयोग गर्ने उनले बताए ।
निर्माण पूरा भएपछि नगरपालिकालाई स्वामित्व दिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले निर्माण अघि बढाएको जिल्ला आयोजना कार्यान्वयन ईकाईले जनाएको छ । छ रोपनी ११ आना जग्गामा तीनवटा ब्लकमा भबन निर्माण भएको छ । श्याम सुन्दर निर्माण सेवा प्रालीका इन्जिनियर नेल्सनकुमार रायले निर्माण रोकिँदा पहिले गरेका काम सबै भत्काएर पुन सुरु गरेको बताए । ‘जगमा राखेका रडहरु खिया लागेका थिए, सबै हटाएर, भत्काएर नयाँ राख्नुपर्यो’ उनले भने ।
आउँदो असार मसान्त सम्म भबन निर्माण पुरा गर्नुपर्ने आयोजना प्रमुख श्रेष्ठले बताईन । ‘असार सम्म म्याद छ’ उनले भनिन् । निर्माण कम्पनीले भने कोभिड १९ को प्रभावका कारण काम रोकिँदा असार सम्म सक्ने लक्ष्य पुरा गर्न सहज नभएको जनाएको छ ।




