| बुधबार, साउन १२, २०८३

मकै बिबाह पर्यटन विकासको एउटा तत्व बनोस्


गोरखामा एक पृथक संस्कार छ, मकै बिबाहको । विशेषगरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरु, लाप्राक,गुम्दा, लापु, उहिया, सिङ्ला, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँहरुमा मकै रोप्नुअघि मकै विहे गरिन्छ ।
यो संस्कार यहाँको अति प्राचीन संस्कार हो । यसलाई सांस्कृतिक सम्पदाको रुपमा जीवित राख्नु त छँदैछ । त्यतिले मात्र पुग्दैन । यसको थप प्रवद्र्धन, प्रचार प्रसार गर्न सके पर्यटन विकास हुनेछ । त्यसैले संस्कृतिलाई अर्थतन्त्रमा ढाल्न सक्नुपर्छ । यसले संस्कृति पनि जोगिन्छ, सामाजिक, आर्थिक विकास पनि हुनेछ ।


आफ्नै ठाउँ आफ्नै देश, आफ्नै भाषा, आफ्नै भेष भने झैँ हरेक ठाउँका आ(आफ्नै रीतिथिति, भाषा, कला, संस्कार र संस्कृति हुन्छन् । यो नै उनीहरुको पहिचान हो । पहिचान सबैका लागि प्राण सरी प्रिय हुन्छ । त्यसैले यसलाई जगाउनु, जोगाउनु, विकास गर्नु, प्रचार प्रसार गर्नु सबैको दायित्व हो ।
आफ्नो, आफ्नो परिबारको, आफ्नो समुदायको, आफ्नो ठाउँको भलाइ सबैले चाहन्छन् । त्यसैले आफ्नो ठाउँमा प्रचलित परम्परालाई जोगाइराख्नु उनीहरुको परमकर्तव्य हो ।
बदलिँदो समयमा अब त्यस्ता परम्परालाई जोगाएर मात्र नपुग्ने भएको छ । त्यही संस्कार र संस्कृति बेचेर अर्थतन्त्र चलायमान बनाउनु वुद्धिमानी हुन्छ । किनभने चाहेर पनि नचाहेर पनि मानव जीवन, जगतलाई चलायमान बनाउने अर्थतन्त्रले हो । अर्थतन्त्र चलायमान बनाउ जहाँ जे छ, त्यसको परिचालन गर्नुपर्छ ।


हाम्रो देशको विकास पर्यटनबाट सम्भव छ भनेर सबैले व्यक्त गरिरहेकै कुरा हो । त्यसैले पर्यटकलाई आकर्षण गर्ने विभिन्न विधाहरुमध्य मकैको बिहे जस्तो परम्परालाई थप प्रचारप्रसार गरेर पर्यटन भित्र्याउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्