| आइतवार, कार्तिक २२, २०८३

कठै होममाया !


नरहरि सापकोटा
वरिपरि ढुङ्गा माटोको घर, केही पक्की पनि । ती घरको बीचमा एउटा थोत्रो कटेरो छ । बाँसले बारिएको कटेरो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् ।
गण्डकी गाउँपालिका २ साँदीखोलाको यो कटेरोमा होममाया थापाले अहिलेको माघको ठिहिरो छेक्न थोत्रो बोरा टाँगेकी छिन् । जीर्ण बोराले जति बारे पनि ४५ बर्षकी होममायालाई छाम्न हररात चिसो ठिहिरो ओछ्यानमै पुग्छ । मुटु कमाउने स्याँठ हरसाँझ र बिहान उनीसितै बिताउँछ ।
होममाया जन्मजात शारीरिक रुपमा अपाङ्ग छिन् । उनको खुट्टा छोटो छ । हात राम्रोसँग चल्दैन । चार हात खुट्टा टेकेर घर भित्र बाहिर गर्छिन् । ‘घर भित्रै खानेकुरा भयो भने जसो तसो घिस्रिएर पकाउँछु’, उनी भन्छिन्, ‘अहिलेसम्म मागेर गुजारा गर्दै आएको छु ।’ कसैको मनमा दयामाया पालायो भने उनको पेट भरिन्छ, नभए उनी पेट कसेर दिन कटाउँछिन् ।


एक वर्षअघिसम्म उनको दैनिकी सजिलो थियो । उनी १६ वर्ष हुँदा बाबुको मृत्यू भयो । आमाको काखमा हुर्किँदै आएकी उनले गत वर्ष आमा पनि गुमाईन् । ‘आमा नभएपछि म बेसाहारा भएँ’ उनले पिरको पोको खोल्दै भनिन् ‘अहिले एक्लै गुजारा चलाउन सकस छ ।’
अहिले उनी बसिरहेको कटेरोको जग्गा पनि उनको नामको होईन । अपाङ्ग भतिजीलाई काका हुकबहादुर थापाले कटेरो बनाउने ठाउँ दिए । गाउँले मिलेर उनका लागि त्यहीँ कटेरो बनाइदिए । गाउँलेको मायाले बनेको सोही कटेरामा उनी एक वर्षदेखि गुजारा गर्दै आएकी छिन् । ‘अपाङ्ग छे, काम केही गर्न सक्दिन । दैलो उक्लिन, ओर्लिन पनि समस्या हुन्छ’ काका हुकबहादुरले भने ‘नजिकै बसेकी छे, बेलाबेला खान त दिनैप¥यो । माया लाग्छ, दिने गरेको छु ।’


दाउरा खोज्न जान नसक्ने भएकाले उनको चुल्होमा आगो बल्दैन । ‘दाउरादेखि खानेकुरासम्म सँधै गाउँका मान्छेसँग मागेर कसरी गुजारा गर्नु’, उनले भनिन् ‘गाउँपालिकाबाट पाउने अपाङ्गता भत्ताले ग्याँस किनेकी छु, तर ग्याँस चुल्होमा पकाउन खाने कुरा छैन ।’ सामाजिक सुरक्षा भत्ताको पैसाले घरमा चाहिने सामान जोहो गरेपछि उनको पेट भर्ने कुरा जोड्न पैसा पुग्दैन अनि पेट भोको रहन्छ । धारामा पानी लिन जान पनि सकस हुने उनी सकि नसकी चार हात खुट्टाले आगन सम्म हिँडडुल गर्छिन ।
‘आफ्नो काम आफैँ गरिन् भने म सँधै भोकै हुन्छु’ उनले दुखेसो गरिन् ‘घिस्रिएरै खाना, पानी आफै गर्छु ।’ सँधै वरपरका घरसँग मागेर खाएर कसरी गुजारा चलाउने भन्ने चिन्ताले होममायालाई गाँजेको छ ।


‘मलाई आफ्नो शरीर नै भारी भएको छ’ उनले भनिन् ‘नुवाई धुवाई गर्न सक्दिन । नियमित सरसफाइमा पनि समस्या छ ।’ बिरामी परेका बेला, बिसन्चो भएका बेला उनको पेट भोकै हुन्छ ।
सुतेर दिन बिताएको कयौँ अनुभव उनको छ । आमा बित्नुअघि मामाघर बस्दै आएकी उनी त्यहाँ राम्रो माया नपाएपछि काकाको छिमेकी हुन फर्किएकी हुन् । २०७२ सालको भुकम्पमा घरबारबिहिन भएका करिब ७० हजार परिवारको नयाँ घर बनेको गोरखामा होममाया त्यो सुविधाबाट पनि छुटिन् । भन्छिन् ‘मागेर एक पेट भएपनि खाएको छु, तर बस्ने ठाउँ भएन, गर्मीमा खलखली पसिना, जाडोमा ठण्डीले मार्ने भो ।’

प्रतिक्रिया दिनुहोस्