
मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्दै
मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्न थालेको छ । ३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा छ ।
पहिलो चरणमा चार र पछिल्लो चरणमा १५ पुल बनाउने प्रक्रिया अन्तर्गत बाँकी १५ पुलको ठेक्का भई धमाधम पुल बन्ने क्रम सुरु भएको छ ।
दोस्रो चरणका १५ मध्ये ४ पुल निर्माणले गति लिएको छ । बाँकी ११ वटा पुलको डिजाइन स्वीकृती अन्तिम चरणमा छ ।
गत चैतमा ३३ महिनाभित्र १५ पुल निर्माण सक्ने गरी अनक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भए लगत्तै कोभिडका कारणले काम अघि बढ्न सकेको थिएन ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार सेती दोभान, खहरे, जुगेडी र डुम्रे भन्ने ठाँउमा पुलको काम धमाधम भइरहेको छ ।
सेती दोभान फाउन्डेसनको काम सकिएको छ ।
१५ वटा पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, किसिन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् ।
प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।
प्याकेज १ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । पुलका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने बाँकी रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुनेछ ।




